रोटरी क्लब अफ काठमाडौं हाइटले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै नमोबुद्ध नगरपालिकामा दुई महत्वपूर्ण निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ८ चैत्रमा आयोजित दन्त शिविर र ११ चैत्रमा सम्पन्न स्वास्थ्य शिविरमार्फत ग्रामीण भेगका सयौं नगरवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

नमोबुद्ध–१ स्थित मथुरापाटी फूलबारी स्वास्थ्य चौकीमा आयोजित दन्त शिविरमा ११७ जना बिरामीले सेवा लिएका थिए । शिविरमा दाँत जाँच, दाँत निकाल्ने, सफा गर्ने लगायतका आवश्यक उपचार प्रदान गरिएको थियो। साथै, सहभागी सबैलाई निःशुल्क टूथब्रश, टूथपेस्ट तथा औषधी वितरण गरिएको थियो। यस कार्यमा चाबहिलस्थित ओम डेन्टल हस्पिटलको प्राविधिक तथा चिकित्सकीय सहयोग महत्वपूर्ण रह्यो।
त्यसैगरी, श्यामपाटी शिमलचौर स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा १२७ जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए । शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै हाडजोर्नी तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो । भक्तपुरस्थित ख्वप अस्पतालका अनुभवी चिकित्सकहरूको सक्रिय सहभागिता तथा निःशुल्क औषधि वितरणले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो ।

यी दुवै कार्यक्रमहरू नमोबुद्ध नगरपालिकाको सहकार्य तथा वल्र्ड युथ इन्टरनेशनलको सहकार्यमा सम्पन्न भएका हुन । रोटरी क्लब अफ काठमाडौं हाइटका बर्ष२०२६–२७ का अध्यक्ष रो. श्रीकृष्ण धितालको नेतृत्वमा सम्पन्न यस पहलले रोटरीको “सेवा नै जीवन हो” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतारेको छ ।