गायक गायिकाको तुलनामा गीतकारको चर्चा कमै हुने गर्छ । तर गीतकार दयाराम पाण्डेय भने अपवादमा पर्ने गर्छन् । हुनत सञ्चार क्षेत्रमा पनि उनको नाम उत्तिकै स्थापित छ । यहाँ हामी उनको गीत लेखन यात्राको बारेमा चर्चा परिचर्चा गर्दैछौ ।
वि.स. २०५७ सालमा शम्भुजीत बाँस्कोटाको स्वर र संगीतमा चलचित्र मुस्कानका लागि मिठा मिठा सपना बोलको गीत नै पाण्डेयको पहिलो रेकर्डेड गीत हो । त्यस बेलाका सर्वाधिक सफल संगीतकार बाँसकोटाले नै उनको शब्दमा लय र स्वर दिएपछि सुरु भएको उनको गीतियात्राअहिले सम्मनिरन्तर जारी छ ।
मुस्कान पछि गीतकार पाण्डेयले बाँस्कोटाकै संगीतमा चलचित्र मन मन्दिर, ख्यालख् यालैमा, ईन्द्रेणी लगायतका चलचित्रमा गीत लेखे । ख्याल ख्यालैमाको हम से पुछोना बोलको गीत त्यस.बेला एफएम, रेडियो र टेलिभिजनका सिनेमा सम्बन्धि काउन्टडाउन कार्यक्रमहरुमा एक नम्बरमा पर्न सफल भए । त्यस पश्चात शम्भुजीतका प्रिय गीतकारको रुपमा पाण्डेय परे । नेपाली चलचित्र क्षेत्रका सात जना नायिकाहरुले एक साथ अभिनय गरेको इन्दे्रणी चलचित्रको झर्यो झर्यो कृष्णभीरमा सीता थापा संग बाँस्कोटाले नै स्वर दिएभने ए मेरी प्रेम नगरकी रानी बोलको गीतमा उदित नारायण झा र दिपा नारायण झा ले स्वर दिए ।
त्यो समयमा एकै पटक चार पाँच वटा चलचित्रको संगीत भरिरहेका हुन्थे भने ती सबै चलचित्रमा प्रायः पाण्डेयकै गीत रचना समाबेस हुन्थे । चलचित्र अग्निपथको हजुर बाले भनेथे, चिसो चिसो हावाले छोयो हेर देखि दुनिया, मलाई मन पर्यो, म तिमीबिना मरिहाल्छु, राजु राजा राम, मानिस, मेरो के गतिहुने हो, चौकादाऊहुदै माईकल अधिकारीसम्म आइपुग्दा यी दुईको जोडी निकै सफल मानियो ।
गीतकार दयाराम पाण्डेयका बारेमा बरिष्ठ संगीतकार एवम् चलचित्रविकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बाँस्कोटा भन्छन “दयारामको विशेषता भनेको उनी सिटिङ यानिकी अन दि स्पट गीत लेख्न सक्छन । यो खुवी कमै गीतकारमा हुने गर्छ । ”
करीब दुई दशक अगाडिको कुरा हो, गीतकार दयाराम पाण्डेय गीत रेकर्डिङको सिलसिलामा मुम्बई गएका थिए । त्यस बेला चलचित्र दुनियाँ र तकदिर चलचित्रको गीत रेकर्डिङकालागि निर्माण युनिटसंग पाण्डेय मुम्बई गएका हुन । मुम्बई त्यो बेलामा स्तरीय रेकर्डिङ र उदित नारायणको स्वरका लागी जाने प्रचलन थियो । मन परेको युनिटलाई रेकर्डिङ अगाडि उदितले घर मै बोलाएर भेट्थे यसको सहजीकरण गायिका दिपानारायण झाले गर्ने गर्थिन । घरमा गीत संगीतका बारेमा छलफल भइसकेपछि त्यसको केहि दिन पछाडि उदित स्टुडियो मा आउने गर्थे । दयाराम पाण्डेयलाई पहिलो पटक मुम्बईमा भेट्दा उदितले भनेको कुरा अझै याद रहेछ । पाण्डेय भन्छन “उदितनारायण झाले मलाई भेट्ने बित्तिकै परिचय हुनासाथ तपाई क्यागजबको गीत लेख्नुहुन्छ भन्नुभयो, मेरो खुसीको सिमा रहेन ।
त्यस पश्चात बाँस्कोटाको संगीतका अतिरिक्त सुरेश अधिकारीको संगीतमा पाण्डेयले लेखेका दुई पल, हंगामालगायतका चलचित्रमा उदितले स्वर दिए । दुई पलको मनले मनको साथ पायो बोलको गीतले युवा पुस्तामा अत्यधिक लोकप्रियता हासिल गर्यो । त्यस्तै महेश खड्काको संगीतमा पाण्डेयकै शब्द रहेको चलचित्र हिम्मतको आँखामा गाजललाको खोई, किस्मत चलचित्रको यो फुलको त कुरै छोडौ….. चेतन सापकोटाको संगीतमा चलचित्र निखिलदाईको म हु नेपाली बोलको गीतबाट पाण्डेयले पहिलो नेफ्टामा सर्वोत्कृष्ट गीतकारको अवार्ड प्राप्तगर्न सफल भए जसमा उदितनारायण झाकै स्वर रहेको थियो । त्यस्तै अर्जुन पोखरेलको संगीतमा पाण्डेयले रचना गरेको चलचित्र ब्ल्याकमेलको मिठामिठा कुरा गर्दै होस वा मेरो जिवन साथीको सरररर बेग मारी बेनीको बस आयो बोलको गीत उदितनारायण झाले नै गाएका हुन । यस अर्थमा उदित संग पनि दयाराम हिट र फिट देखिन्छन् ।
आमाको आशिर्वाद, दुईपल, डर जस्ता चलचित्र निर्माण गर्ने निर्माता बाला गुरुङका चलचित्रहरु हुन या हंगामा, परेनि मायाजालैमा, कठपुतली निर्माण गर्ने पृथ्वी राना÷रामशरण घिमिरेका चलचित्र हुन, पुराना निर्माता उद्धव पौडेल, छवि ओझा देखि नयाँनिर्मातासंग उनको उत्तिकै राम्रो सम्बन्ध छ । निर्देशक, कलाकार, वितरक सबै संग उनी सुमधुर सम्बन्ध राख्छन् । चलचित्र निर्माता एवम् वितरक सुनिल मानन्धरले हामी संगको कुराकानीको क्रममा भने –“नेपालीचलचित्र क्षेत्रमा यस्तो पनि समय आयो कि जुन समयमा गीत हिट भएपछि चलचित्र चल्ने गथ्र्यो । अझ पाण्डेयका गीतभएको चलचित्र सुपरहिट हुने गथ्र्यो । त्यसैले मैले चलचित्र किन्दा पाण्डेयले गीत लेखेका छन कि छैनन् हेरेर किन्ने गर्थे । त्यो बेला करीब ९० देखि ९५ प्रतिशत चलचित्रमा पाण्डेयका गीत हुन्थे, तीप्रायः सुपरहिट नै हुन्थे–मानन्धर बताउँन्छन ।
नायिका निरुता सिंह ६० को दशककी सर्वाधिक सफल नायिकाहुन । उनले हामी संगको कुराकानीको क्रममा भनिन पाण्डेय जीको गीत लेख्ने शैली मलाई निकै मन पर्छ । मैले डर, दुई पल, दुनियालगायत थुप्रै चलचित्रमा उहाँले लेखेका गीतमा अभिनयगर्न पाएकी छु, जुन मेरो लागी सौभाग्यको कुरा हो ।
त्यस्तै आफूले अभिनय गरेका थुप्रै चलचित्रका अतिरिक्त आफुले निर्माण गरेका अजम्बरी नाता, हिम्मत, किस्मत, हिम्मत वालीमा दयारामसंग गरेको सहकार्य निकै फापेको अर्कि चर्चित नायिका रेखाथापा सम्झिछिन । नायक राजेश हमाल, भुवन के.सी., शिव श्रेष्ठदेखि दिलिप रायमाझी, निखिल उप्रेति, विराज भट्टहुदै आर्यन सिग्देल, जिवन लुइृटेल, राजबल्लभ कोइरालादेखि दयाहाङ राई, प्रदिप खड्का सम्मका अहिलेका युवा स्टारहरु समेतले उनका गीतमा अभिनय गरिसकेका छन् ।
दुई दशकभन्दालामो गीति लेखन यात्रा तय गरिसकेका पाण्डेयलाई विशिष्ट गीतकार किरण खरेलले युवा पुस्ताको सबै भन्दा सफल र असल गीतकारको रुपमा चित्रण गरेका थिए । दयारामले आफ्नो गीति लेखनको आइडल मान्ने गीतकार खरेलले नै त्यसो भन्नु निकै खुसीको कुरा रहेको बताउँछन ।
चलचित्रको गीतका अतिरिक्त पाण्डेयले थुप्रै टेलिचलचित्र, आधुनिकगीतहरु पनि लेखिसकेका छन् । हाल उनी आफ्नै एकल एल्बम् ल्याउने तयारी संगै करीब आधा दर्जन चलचित्रका गीतहरु लेख्ने कार्यमा व्यस्त रहेका छन् । –नव क्षितिज साप्ताहिकबाट








