पछिल्लो समय आत्महत्याको क्रम ह्वात्तै बढेको छ । देशभरमा प्रत्येक दिन सरदर १० जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । यो समस्या विकराल र साझा समस्या बन्न पुगेको छ ।
आत्महत्या गर्न साहस चाहिन्छ, वा गम्भीर निराशाका कारण आत्महत्या हुने गर्दछ भनिए पनि यकिन गर्न गाह्रो छ । आत्महत्या अत्यन्त जटिल प्रक्रिया हो । आत्महत्याको एउटै कारणले हुन्छ वा एउटा मात्र कारणले भूमिका खेलको हुन्छ भन्न सकिँदैन भन्ने यस क्षेत्रका जानकारहरुको मत छ । तथापि आत्महत्या एउटा मानव मनोविज्ञानभित्रको जटिल अन्र्तद्वन्द्वको उपज नै मान्न सकिन्छ । कारण अनेकन हुुुुुन सक्लान तर मानसिक समस्या नै आत्महत्याको प्रमुख कारण हो । जसमा अन्य सामाजिक, आर्थिक, पारिवारिक तथा अन्य व्यवहारिक पक्ष समस्या बन्दै उत्प्रेरक भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
नेपालमापनि अधिकांश आत्महत्याको कारण व्यवहारिक पक्ष समस्या बनेको पाइन्छ । यसका कारक तत्वमा जीर्ण रोग, आफन्त गुमाउदाको पीडा, एकल जीवन, वैदेशिक रोजगारका सामाजिक असर, असफल प्रेम, परीक्षामा असफलता, क्षणिक आवेग, दाइजो प्रथा, अज्ञानता, पारिवारिक झै झगडा बनेका छन् ।
हामीले प्रायः आत्महत्या क्षणिक आवेगमा आएर गरेको जस्तो देख्छौं । तर यो सरासर भ्रम हो । समस्याका कारण जे भए पनि आत्महत्या कम गर्न समाजले नै भूमिका खेल्नु पर्छ । धेरै निराशा, उतारचढाव, लगायतको चाङ बढेसँगै एउटा श्रृङ्खलात्मक र योजनावद्ध रुपमा भएका हुन्छन् । प्रथमतः यो कुरा सबैले बुझ्नु जरुरी छ । हामीले सुक्ष्म रुपमा मनन गर्ने हो भने बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् । उनीहरुले आफ्नो समाज परिवार साथीभाइसँग ती संकेत कुनै न कुनै मध्यमबाट प्रस्तुत गरेका हुन्छन् । मनोवैज्ञानिकको भनाइ मान्ने हो भने पनि आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नुपूर्व कसैको सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । कसैले उनीहरूको कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् ।
उनीहरुको यो इच्छालाई बुझ्न सकियो र बचाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ ।
समाज, परिवार र आवश्यकताल अनुसारको परामर्श उपचारले हामी आत्महत्यालाई रोकथाम गर्न सक्छौ । यो कुरा नभुलौँ । निराशा, घरायसी झैझगडा न्यूनिकरण गरौँ– गराऔं । यसबाट पीडित हुन सक्ने व्यक्तिको पहिचान गर्नु हाम्रो प्रमुख चुनौति हो । त्यस्ता व्यक्ति पहिचान गरौ र साहस, ढाडस दिने गरौँ । प्रसन्न तुल्याउने कोशिस गरौँ । आत्महत्या कम गर्न भूमिका खेलौँ ।








