राज्य कसैको पेवा बन्न सक्दैन । वाद, तन्त्र र व्यवस्थाहरु समयानुसार परिवर्तित सन्दर्भहरु हुन् । इतिहासदेखि नेपालमा चलेको र चल्दै आएको सबैखाले व्यवस्था, वाद र तन्त्रहरुको आफ्नै खालको सकारात्म र नकारात्मक पक्ष सहितको इतिहास कायम छ । चाहे त्यो किराँत काल, लिच्छवी काल, मल्ल काल, राणा शासन वा शाहवंशीय शासन व्यवस्थादेखि प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रसम्मकै किन नहोस्, शासकहरुको स्वभावमा शासन व्यवस्थाहरु चल्ने गरेको केहि ऐतिहासिक तथ्यहरु देख्न सकिनछ ।
पृथ्वी जयन्ती, जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवसपनि भनिन्छ । अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो । अठारौंँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए । जसका कारण अहिलेको नेपाल बनेको थियो । यस अवसरमा धेरैले शाहको शालिकमा माल्यार्पण गर्ने, परेडमा सहभागी हुने र नेपालका लागि उनले पु¥याएको योगदानको स्मरण गर्ने गर्दछन् । वि.सं २००४ देखि वि.सं २०६२ सम्म पृथ्वी जयन्तीको उन्मूलन नहुञ्जेलसम्म सार्वजनिक बिदाको रूपमा मनाइँदै आएको थियो । गोरखा र नुवाकोट जिल्लाका केही स्थानीय तहले निरन्तर रुपमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिंदै आएका छन् । यसलाई सार्वजनिक बिदाका रूपमा पुनःस्थापित गर्न पनि माग उठ्दै आएको थियो । सायद त्यसैको प्रभावपनि हुन सक्छ पृथ्वी जयन्ती अर्था राष्ट्रिय एकता दविसमा पुनः सार्वजनिक विदा दिन थालिएको छ । त्यसै अनुरुप आज देशभर सार्वजनिक विदा छ ।
आजभन्दा झण्डै ३०० बर्षअघि बाइसे अनि चौविसे राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो । जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो । आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।
यि राजालाई नेपालमात्र नभई दक्षिण एसियामा नैै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेर्ने गरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाउँदै आइएको छ । केहि समय पृथ्वीजयन्ती अर्थात एकता दिवसमाथि राजनीतिकरण गरिएपनि यसलाई केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।
१८ औं र १९ औं शताब्दी तिरको अन्तराष्ट्रिय राजनितीलाई राम्ररी नियाल्ने हो भने पनि अहिलेका ठूला र विकसित बिभिन्न देशहरु त्सैसमयमा एकिकृत भएका देखिन्छन् । स–साना राज्य, शाषक अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन त्यस बखत थुप्रै खालका युद्धहरु बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैन । यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो अन्तरको सामना गरिरहेको छ ।
२०६२ र ६३ को जन–आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ । पृथ्वीजयन्ति मनाउने कुरा होस् वा थुप्रै खालका नेपाली सभ्यताका ऐतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।
घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्, नेपाल दुई ढुङ्गाबिचको तरुल हो, बुढा मरै भाषा सरै भनि भन्छन्, तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्, चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन. त्यो काठमाडौं हो. भनि देषा(या) र. मेरो मनमा यी तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो, लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुता हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ, उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ.चीन वादशाहसित ठूलो घाहा राष्नु. दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु.तर त्यो महाचतुर छ, यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ.षेलषाल मात्र ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन.सुरो पनि हंदैन, तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हे¥या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ, षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु, ग¥हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु, पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन्, आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु.नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ.राजाका भंडार भन्याका रैतानहरू हुन्, मेरा साना दुषले आज्र्याको मुलुक होइन.सबै जातको फुलबारि हो.सबैलाई चेतना भया. यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ । यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक रहँदै आएको छ ।
पृथ्वी नारायण शाहको कुरा गर्दा यीनका साहसी सेनानीहरु कालु पाण्डे लगायतलाई ईतिहासले विर्षन मिल्दैन । किर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात स–सम्मान काठमाण्डौ थानकोट नजिक ईन्द्रदहमा उनको समाधी अझै पनि त्यहि ठाँउमा रहेको छ । आधूनीक नेपालको खाका कोर्ने यीनै राजाले नै गोर्खामा देखेको काठ्माण्डौको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाहवंशको इतिहासको नयाँ आयाम प्रार्दुभाव गरेका हुन् । विक्रम सम्वत् १८३१ मा मृत्यु भएका यी दूरगामी शासकका छोरा प्रताप सिंह लगायत क्रमशः शाह सन्नततिका शाषकहरुले लामो समयसम्म शासन संचालन गरे ।
राजपरिवार हत्या कण्ड, आजीत बनेको माओवदीको शसस्त्र युद्धको विश्राम, झन पछि झन तानाशाही बन्दै गएको तत्कालिन राजाहरुको मनोमानी व्यवस्था र २०६२÷२०६३ को जनआन्दोलनको माग अनुरुप शाहवंशीय शासन व्यवस्थाको विधिवत अन्त्य भई गणतन्त्रामक नेपालको स्थापना भएको हो ।
पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू–भागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डौको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललाई नियाले त्यतिबेलै काठमाडौंको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू–भागहरु जितेका हुन् । परराष्ट्र मामिलामा पनि यीनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।
भक्तपुरको राजपरिवारसंग मितेरी साईनो गाँसेर पनि आक्रमण गरी विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाहमाथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा समबन्धभन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रुपमा सदैव नेपाली हृदयमा रहँदै आएकाछन् ।
युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले किर्तिपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि किर्तिपुरवासीहरुले पुराना क्रुरताका कथाहरु भन्दछन् । जे होस् आधूनिक नेपालका यी रचयीताको आजको जन्मदिनमा सम्पूर्ण नेपालीहरुसमक्ष एकता र मेलमिलाप मिश्रीत अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतीखेर नेपाली एकताको कसरतमा हार मानेका या बिफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल हुने थिएन् । सिंगो नेपाल देश भएको हुने थिएन ।
सदन अनि सडक जता हेरेपनि अहिले लोकतन्त्र अनि शक्तिको बिकेन्द्रिकरणका नाराहरु घन्कि रहेको पाउन सकिन्छ । तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिकतै देश अनि देशबासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ । देशको इतिहास पानीमा चलेको डुंगा जस्तो हुन सक्दै सक्दैन । इतिहासका पाइलाहरु मेटिँदैन । पृथ्वी नारायण शाहका आवाज अनि दृष्टिहरु आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडावाट हामी सबैलाई नियाल्दै छौं ।
(स्रोतः बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादनमा प्रकाशित पुस्तक ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश, डा. कर्णबहादुर थापा सहितको बिभिन्न लेख रचनाहरु)