अहिले हाम्रो देशमा बसाइँ सराई अत्यन्तै तिब्र गतिमा भइरहेको छ । कोहि अर्कै देशमा त कोहि शहरमा बसाइँ सर्न थालेका छन् । गाउँ घरमा आजकाल खासै त्यति मान्छेहरु बस्दैनन् । गाउँ घरमा उमेर ढल्केका बुवा आमा मात्र भेटिन्छन् । आजभोलि गाउँ घर बेहुली अन्माएर पठाएपछिको घरजस्तो सुनसान र उराठलाग्दो भएको छ । गाउँका हरेक घरमा पूरै सन्नाटा छाएको छ । घर वरिपरि जताततै झाडी नै झाडी झार देखिन्छ । केहि वर्ष अगाडिसम्म मज्जाले अन्न फल्ने गरेका खेतबारी आज पुरै बाँझो भएको छ । यो देख्दा सबैको मन भकानिएर आउँछ । तर विडम्बना भन्नु पर्छ गाउँ घरमा बस्नको लागि कहिँ कतैबाट पनि प्रोत्साहन छैन । न राम्रो पढाई छ, न अस्पताल भएर नै राम्रो उपचार छ, न त काम गर्नको लागि रोजगारी नै छ । यस कारण गाउँ घरमा कोहि पनि बस्न मनपराउँदैनन् ।
केहि वर्ष अगाडिसम्म गाउँघरमा २०÷२५ जनासम्म एउटै घरको परिवारमा सबै सदस्य मिलेर बस्ने गर्दथे । तर आज ति घरमा बुवा र आमा दुईजना मात्र बस्न बाध्य छन् । अझ कति घरमा त एकजना मात्र पनि बस्ने गरेको पाइन्छ । केहि वर्ष अघिसम्म गाउँका घरमा मान्छेको निकै आउजाउ हुने गर्दथ्यो । जताततै भरिभराउ मान्छे हुन्थे । दशै, तिहार, तिज जस्ता चाडबाडमा सबैका घरमा पाहुनले भरिएको हुन्थ्यो । तर आजभोलि दशै, तिहार, तिजमा अलि अलि मान्छेहरुको आउजाउ भए पनि पहिलाको जस्तो रौनक देखिंदैन । हिजो पाउनाले भरिभराउ हुने घर आज निकै उराठलाग्दो बनेछ । कतिपय घरमा छोराछोरी सबै विदेशिएर निकै वर्षदेखि घरमै नआएको पनि सुन्न र देख्न सकिन्छ भने कतिपय काठमाडौंमा आ–आफ्नो परिवारसहित बसेका छन् ।
आजभोलि गाउघरमा कोहि नयाँ युवायुवती देख्नेबित्तिकै गाउँभरिका बा–आमा आँखाभरि आँसु पारेर आफ्ना छोराछोरीको यादले पिरोलिएका हुन्छन् । नयाँ मान्छे कोहि देख्ने बितिक्कै तिनलाई आफ्नो घरको पिंडिमा बस्न अनुरोध गर्दै एकछिन भए पनि मनको दुखेसो सुनाउन थाल्छन् । हरेक गाउँघरमा हरेकका बुवा आमा आँखाभरि आँसु पारेर विगतलाई सम्झिंदै बस्न बाध्य छन् । बा–आमाको चाउरी परेको अनुहार, विरक्त लाग्दो गाउँ, बाँझिएर बसेका खेतबारी देखेर एक दिन त सबैले मन दुखाउँछन् । तर दीर्घकालीन रुपले गाउँमा बस्ने गरि कोहि कसैले पनि योजना दिन खोज्दैनन् । यो नै अहिलेको डर लाग्दो परिस्थिति हो । अहिले गाउँ सम्झिँदा बहुतै नराम्रो लाग्छ । आजभन्दा केहि वर्षअघिसम्म गाउँघरका मानिसहरुलाई शहर वा बिदेशको कुरा गर्दा कोही सुन्न चाँहदैनथे । तर आज त्यहि प्यारो गाउँघरमा कोहि बस्न चाँहादैनन् ।
अहिले पहिलाको तुलनामा गाउँघरमा पनि सुविधाहरु थपिँदै गएका छन् । हिजो राजधानीबाट नजिकैका गाउँमा पनि धेरै धेरै कुराको अभाव थियो । त्यहाँ हिजो पानी नहुने, घट्टबाट धान मकै कुटेर खानुपर्ने, चिउरा कुट्न गाउँभरिका मान्छेहरू दुई घण्टाको बाटो भिजाएको धान बोकेर टाढासम्म जानुपर्ने, घाँस दाउरा गर्न जङ्गल जानुपर्ने, पेटभरि खान नपाउने जस्ता अनेकौं दुःख भोग्नु पर्दथ्यो । गाउँमा कसैको बिहे हुँदा टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर भोज खाने गरेको हिजो जस्तो लाग्छ । तर आज गाउँमा यस्ता कुनै पनि काम गर्न पर्दैन यस्तो चलन पनि हराउँदै गए । त्यति बेला काम गर्न अफ्ट्यारो भएता पनि त्यो माहोल, त्यो अनुभव र त्यस भित्रको रमाइलो अहिले कसैले पनि अनुभुती गर्न पाएको हुँदैन । त्यति बेलाको आनन्द बेग्लै थियो अहिले त्यो छैन । रमाइलो सुन्दर देखिने पहाडका डाँडाहरू अचेल मान्छे नभएर झाडी नै झाडीले उराठ लाग्ने बनेका छन् । हरेक घरमा छोराछोरीको सम्झनामा केबल मृत्युको पर्खाइमा रहेका बुढा बा–आमा मात्र गाउँ कुरेर बसेका छन्। यो देख्दा अचेल सबैको मन दुख्छ । गाउँघरमा अहिले केहि विकास भने भएको छ । तर मानिस नै गाउँघरमा नभएका कारण त्यो विकासको कुनै महत्व देखिएको छैन । अधिकांश मानिस विदेश गइसकेका छन् भने स्वदेशमा बस्नेहरू पनि शहरमा छन्। यसो कहिले कहिँ मात्र रमाइलोका लागि गाउँ घरमा जाने गर्दछन् ।
हिजो हामी बच्चा हुँदा लुकामारी, लुकीडुम, दौड, फुटबल, चुंगी, डन्डी बियो, परालको माचमा उफ्रेर खेलेको, रिङ, पाँग्रा गुडाएर खेलेको र एकखुट्टे खेलेको कुरा संम्झदा र आजभोलि मोबाइल, ल्यापटप, अनेकौं खेलौना आदि सँम्झदा आकाश र जमिनको फरक लाग्दछ । तर जे होस् आज पनि हिजोको त्यो समय नै महत्वपूर्ण थियो । खासै गाउँघरमा अहिले अलिकति बढी विकास पुगेको मात्रै हो । अरु धेरै कुरा उस्तै छन् । तर ती मान्छे, ती साथी, त्यो भावनात्मक सम्बन्ध भएका व्यक्तिहरू भने कोही छैनन् । त्यतिका वर्षसम्म आफू खेलेको, हुर्केको, पढेको गाउँमा कोही नभएपछि भौतिक विकासले मात्र चित्त बुझाउन गा¥हो हुनेरहेछ । भावना नजोडिएको विकास खासै अर्थपूर्ण नहुने रैछ। अर्कोतर्फ, गाउँमा मनाइने धेरै संस्कृति र संस्कारहरू पनि लोप हुँदै गएका छन् । अचेल दसैं तिहारमा गाउँमा पिङ हाल्ने चलन हटिसकेको छ भने पिङ हालेको ठाउँमा पनि पिङ खाली हुन थालेको छ । अर्कोतर्फ गाउँमा बिवाह हुँदा गाउँभरिका मानिस जुटेर विवाह सम्पन्न गर्ने चलन हराइसकेको छ । आजकाल मोडर्न पार्टी प्यालेस र सहरको बसाइले गाउँमा गरिने धेरै संस्कार लोप हुँदै गएका छन् । तर यसलाई हामीले जसरी भए पनि जोगाएर राख्नु पर्छ ।
आजभोलि गाउँमा सबै युवा विदेशिएका कारण मान्छे मर्दा लास लैजाने मान्छे छैनन् । अचेल मान्छेले होइन, लासले जल्नको लागि आफ्ना छोराछोरी कुरेर बस्नुपर्ने बाध्यता छ । गाउँ घरमा भएका मन्दिर, घाट, पार्टीपौवा र भवनहरू सबै माकुराको जालोले भरिएका छन् । विभिन्न नाच, पूजाआजा र पर्वहरू मानिसको अभावमै लोप भइरहेका छन् । कतिपय पर्यटकीय सम्भावना बोकेका स्थल र ऐतिहासिक महत्वका स्थानहरू समेत संरक्षणको अभावमा जीर्ण हुँदैछन् । यसको महत्त्व बुझेर यिनको संरक्षण गर्न तिर तत्काल हामी सबै लाग्नु पर्ने देखिन्छ । अन्यथा एक दिन यि सबै कुरा सम्झनामा मात्र रहेने निश्चित छ ।
अहिले गाउँघरमा विकास भने केहि पुगेको छ । कुनै समय पानीको लागि घण्टौँ धाएर गाग्रीमा पानी बोक्नुपर्थ्यो भने अहिले घरघरमा धारो छ । कुनै समय उत्पादन भएको दूध बेच्ने ठाउँ थिएन भने अहिले घरघरमै दूध लिने गाडी आइपुग्छ । घण्टौं हिँडेर पुगिने ठाउँमा गाडीको सुविधाले चाँडै पुग्न सकिने भएको छ । घरनजिकै स्कुल छ, स्वास्थ्य संस्था छ । स्थानीय तह, प्रदेश र केन्द्रले पनि किसानलाई प्रोत्साहनका लागि धेरै कार्यक्रम ल्याएका छन् । उन्नत जातका पशु दिनेदेखि विभिन्न तालिम र बिउविजन गाउँमा सहजै पाइन्छ । हिजो आगोमा फुँ–फुँ गरेर धुवाँ खाँदै पकाउनुपर्ने युगलाई ग्याँस र इन्डक्सनले विस्थापित गरेको छ । उत्पादन भएका धान, मकै र तरकारी लिन घरमै गाडी आइपुग्छ । बजारको कुनै समस्या छैन । तर विडम्बना गाउँमा सुविधा पुगेको छ तर मान्छे कोही छैनन् । भएका युवाहरू पनि फ्रस्टेड भएर विदेशिन लागेका छन् । अब जसरी जे गरेर भए पनि मानिसलाई गाउँघरमा बस्ने वातावरण बनाउन लाग्नु प¥यो ।
अर्कोतर्फ गाउँमा शिक्षाको पनि उस्तै सुविधा पुगेको छ । विद्यार्थीलाई दिवा–खाजाको व्यवस्था गरिएको छ भने धेरै दाताहरूले स्कुलमा कपी, किताब र खेलकुदका सामग्री निःशुल्क वितरण गरिरहेका छन् । जबकि केही वर्षअघिसम्म हामी हाफछुट्टीमा लप्सी, अम्बा खोजेर खान्थ्यौं भने कतिपय साथीहरूले कापी समेत किन्न नसक्ने अवस्था थियो ।
चकले ब्ल्याकबोर्डमा लेखेर चौरमा बसेर पढ्नु पर्दा पनि विद्यार्थी भरिभराउ हुन्थे । नयाँ कपडा दशैंमा मात्र पाइन्थ्यो । घर बस्दा र घुम्न जाँदा लगाउने लुगा समेत स्कुल ड्रेस नै हुन्थ्यो । अहिले गाउँको स्कुलमा पनि सुविधा सम्पन्न भवन बनिसकेको छ । कम्प्युटर, ह्वाइट बोर्ड, इन्टरनेट र प्राविधिक शिक्षकहरू पढाउन पुगेका छन् । हाम्रो समयमा जस्तो फोहोर ट्वाइलेट पनि छैन। सुविधा जति पुगे पनि स्कुलमा विद्यार्थी भने छैनन् । विद्यार्थी बिनाको स्कुल र सुविधाको पनि कुनै अर्थ छैन ।
तीन तहकै सरकारले गाउँ–गाउँको बजेटमा बर्सेनि वृद्धि गरिरहेका छन् । मानिस नभएका ठाउँमा विकास मात्रै गरेर के गर्ने? प्रयोग नै नहुने बाटो, विद्यार्थी नै नभएको स्कुलको भवन, पूजा गर्ने मानिस नआउने मन्दिर र खानेपानीका पाइप बिच्छाएर के गर्ने? यी सबै भौतिक सुविधा प्रयोग गर्ने गाउँका युवा कोही छैनन् । अब सरकारले गाउँघरमा विकास सँगै गाउँमै रहन सक्ने वातावरण सृजना गर्नु प¥यो । अब सुविधा बढाउनेभन्दा पनि गाउँगाउँमा सुविधाको उपयोग गरेर विकास गर्ने नागरिकको खाँचो छ । सहरमा मात्रै केन्द्रित भएको बस्तीलाई गाउँगाउँमा पनि आकर्षित गर्ने खालका योजना ल्याउनु जरूरी छ । सो खालका अवसरहरू गाउँमा पुगे मात्रै अब युवा गाउँमा बस्छन् । अन्यथा, सामान्य भौतिक पूर्वाधारको विकासले मात्रै कोही पनि गाउँघरमा बस्ने अवस्था छैन । युवा आकर्षित हुने काम सरकारले नगरेसम्म गाउँको विकासले अर्थ राख्दैन ।
समय धेरै परिवर्तन भइसकेको छ । एउटा पुस्ताहरू सकिनेबित्तिकै गाउँहरू खाली बन्ने अवस्था आइसकेको छ । जसले गर्दा उत्पादन हुने जमिन बाँझिएको छ भने भएका युवाशक्ति सबै विदेशमै हुने सम्भावना बढेको छ । अनि हामी भने हरेक बस्तु आयात गरेर उपभोग गर्न बाध्य छौं । मानिस नभएका ठाउँमा विकासको सुविधा पु¥याएर मात्रै पनि त्यसबाट उपलब्धि केही हुने देखिँदैन । तसकारण गाउँघरको बसाइसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिनुपर्ने देखिन्छ । अन्यथा देशको अवस्था थप भयावह बन्ने प्रष्ट देखिन्छ ।
यसमा हाम्रो देशका नेताहरुले बेलैमा ध्यान दिन आवश्यक छ । होइन भने कुनै दिन आम नेपाली जनताले सबैलाई सराप्ने निश्चित छ । कुनै पनि देशको विकास हुन र देश अगाडि बढ्न सबैभन्दा पहिला त्यहाँका जनता खुशी हुनु प¥यो । तर हाम्रो देशमा आम जनता कोहि एउटा नेतासँग सन्तुष्टि छैन । जबसम्म नेता र जनताको कुरा मिल्न सक्दैन तबसम्म त्यो देशको विकास हुन सक्दैन । राजनीतिक दल र त्यसका नेताले यो कुरा बुझि अगाडी बढ्न आवश्यक छ । –नव क्षितिज साप्ताहिकबाट








