आत्महत्या न्यूनिकरणका लागि संवेग र आवेग न्यूनिकरण अभियान अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ काभ्रे बनेपा र रोटरी क्लब अफ काभ्रे भ्यालीको संयुक्त आयोजनामा बनेपामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले समाजमा विद्यमान विभिन्न समस्या मध्येको एक आत्महत्या न्यूनिकरणका लागि समाजका सबै तह र तप्काले जुझारु भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेंढाई, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निजी तथा आवासीय विद्यालय अर्गनाइजेश काभ्रेका अध्यक्ष श्याबहादुर भुजेल लगायतले व्यक्तिमा उत्पन्न हुने भाव र यसबाट सिर्जना हुने मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास रोक्न आ–आफ्ना ठाउँबाट योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, सेना, प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख, स्थानीय जनप्रतिनिधि लगायत २०० भन्दामाथिको सहभागिता रहेको कार्यक्रमको सभापतित्व गर्दै रोटरी क्लब अफ काभ्रे बनेपाका वर्ष २०२३–२४ अध्यक्ष केशवप्रसाद बडालले मानवमा विद्यमान भावहरु आवेग, संवेग, उदवेगका कारण मानव छोटो समयमा निर्णय लिन पुग्ने र यसको नतिजा जीवन कालभर पिडादायी हुनसक्ने भएकाले यस प्रकारका समस्या न्यूनिकरणका लागि आयोजित कार्यक्रमले समाजलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सेप्टेम्बर १० मा मनाइने विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको बताउनु हुँदै मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र ती भावहरुबाट ग्रसित भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविद्हरु तथा विशेषज्ञहरुमार्फत सचेतना सञ्चारित गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोटरी क्लब अफ काभ्रे भ्यालीका वर्ष २०२३–२४का अध्यक्ष रिकेश कायष्ठले प्राथमिकताका वर्ग तथा क्षेत्रहरुमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा रोटरियन तथा कर्ड नेपालका वरिष्ठ मनो सामाजिक परामर्शदाता वीरबहादुर लामा, मनोसामाजिक परामर्शदाता प्रशानी श्रेष्ठ, मनोसामाजिक परामर्शदाता भूमिका सारु मगरलगायतले सहभागीहरुर्लाइ परामर्श प्रदान गर्नुभएको थियो ।