बनेपा, नेकपा एमाले काभ्रेले आउदो जेठ २७ गते धुलिखेलमा जिल्ला परिषद भेला आयोजना गर्ने भएको छ । जसको तयारीमा एमाले काभ्रे जुटेको छ ।
आईतबार तयारी बारे जानकारी दिदैं एमाले काभ्रेका सचिव राजन भुर्तेलले २०७८ पुसमा भएको जिल्ला अधिवेशनपछि पहिलोपटक जिल्ला परिषद आयोजना गरेको र परिषदमा जिल्ला अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरु परिषद सदस्यको रुपमा सहभागी हुने बताए । जिल्ला अधिवेशनमा १३ सय ८४ जना प्रतिनिधि रहेका थिए भने ५ प्रतिशत मनोनित गरिएको थियो । एमालेको विधानमा केन्द्रीय कमिटीदेखि वडा कमिटीसम्म प्रतिनिधि परिषद रहने व्यवस्था छ । सम्वन्धीत कमिटीको अधिवेशनका प्रतिनिधिहरु नै परिषदका सदस्य हुनेछन् ।
परिषदमा गत अधिवेशनपछि हालसम्म भएका पार्टी गतिविधिको समीक्षाका साथै आगामी योजनाका विषयमा छलफल हुने तथा राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन परिषदमा पेश हुने सचिव भुर्तेलले जानकारी दिए । उपसचिव एवं प्रचार विभाग प्रमुख रिता ढकालले परिषद बैठकले पार्टीका गतिविधिलाई थप क्रियाशिल बनाउन मद्दत पुग्ने बताईन । उनका अनुसार जिल्ला परिषद अगाडि यही जेठ २३ गते बनेपामा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम राखेको छ । प्रशिक्षणमा एमालेबाट स्थानीय तहको निर्वाचनमा विजयी भएका २ सय ४० जना जनप्रतिनिधि तथा पालिका कमिटीका पदाधिकारीहरु सहभागी हुनेछन् । बनेपाको कायस्थ बेंक्वेटमा हुने प्रशिक्षणमा आगामी आर्थिक बर्षको योजना तर्जुमामा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका विषयमा समेत छलफल हुनेछ ।