आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् ।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् । त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रस्तावकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् । समर्थकमा एमालेकै नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के रहेका छन् । उम्मेदवारी दर्तापछि नेता नेम्वाङले आफू नै राष्ट्रिय सहमतिको उम्मेदवार बन्न सक्ने बताएका छन । विगतमा संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको र त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिंडेको भन्दै उनले आफ्नो हकमा राष्ट्रिय सहमति हुनसक्ने बताए ।

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुवै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे । संगै राष्ट्रपतिका दुवै उम्मेदवार नेपाली राजनीतिमा लामो समयदेखि रहेका र खारिएका नेता हुन् । दुवै नेता संसदीय राजनीतिबारे दख्खल राख्ने नेता पनि हुन् । अब बाजी कस्ले मार्ने हेर्न भने फागुन २५ सम्म कुर्नै पर्ने छ । –नव क्षितिज साप्ताहिकबाट