बनेपा, आगामी २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो । समितिले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई उपलब्ध गराएको थियो ।

 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भन्नुभयो– ‘पात्रो तयारीको क्रममा छ। निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं ।’ समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ । वि.सं. २०८० सालमा दशैंको पहिलो दिन घटस्थापना असोज २८ गते परेको छ । कार्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ। त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको छ । तिहार कार्तिक २५ गतेबाट शुरू हुनेछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ ।

 

भदौ ४ गते नागपञ्चमी र भदौ ७ गते गौरापर्व परेको छ। भदौ १४ गते जनै पूर्णिमा, १५ गते गाईजात्रा, २० गते कृष्ण जन्माष्टमी र भदौ २९ गते कुशेऔंशी परेको छ । त्यसै गरी भदौ ३१ गते दरखाने, असोज १ गते हरितालिका तीज र विश्वकर्मा पूजा परेको छ । मंगलचौथी ऋषिपञ्चमी एकैदिन अर्थात असोज २ गते परेको समितिले जनाएको छ । –नव क्षितिज साप्ताहिकबाट