हाम्रो देशमा राजनीतिक अस्थिरता नै सबै प्रकारका समस्याको प्रमुख कारण हो । तर विडम्बना भन्नु पर्छ यसपालि हुने चुनावले पनि यो समस्याको हल गर्ने संकेत देखिंदैन । जबसम्म यसको निराकरण गर्दै अगाडि बढ्न सकिंदैन तबसम्म समृद्ध नेपाल निर्माणको दिशामा अगाडि बढ्न बाधा आइरहन्छ । यसको हल गर्न सबै राजनीतिक शक्ति राष्ट्रिय स्वार्थमा एक हुन जरुरी छ । अहिले आम जनताको चाहना र देशको आवश्यकता राजनीतिमा स्थिरता नै हो । यसले नै आर्थिक उन्नयन, दिगो विकास र अमनचैनको ढोका खोल्न सक्छ । तर विडम्बना यो चाहना आजसम्म अधुरो रहँदै आएको छ । यत्रो समय हुँदासम्म पनि मुलुकलाई राजनीतिक अस्थिरताले छोडेको छैन । यसैको नतिजा आज विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढ्न सकेको छैन । प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दासम्म आम जनतामा देशमा उपलब्धि मुलक कुनै नयाँ कुराको अनुभुति लिन सकेका छैनन् । यिनै कारण आम जनता सरकारको गैरजिम्मेवार कामकारबाही र अव्यवस्था प्रति असन्तुष्टि छन् । जनता यो राजनीतिक अस्थिरता हटाउने अनेकौं बाटो खोजिरहेको छन् । स्थानीय चुनावमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उमेदवारले जित्न सफल भएको पनि यसैको नतिजा हो । यो राजनीतिक दलको लागि राम्रो सवक पनि हो ।
राजनीतिक अस्थिरता हुनुका मुख्य कारण भनेको सरकारले जनअपेक्षा सम्बोधन र अधिकारको संरक्षण गर्न नसक्नु, गरीबी र बेरोजगारी बढ्नु, प्रतिस्पर्धी राजनीतिक दलहरूबीच द्वन्द्वात्मक अवस्था बन्दै जानु, अप्रत्याशित परिवर्तन हुँदा त्यसलाई सहज रूपमा लिने माहोल नहुनु, मतदाताको अनादर तथा करदाताको योगदानको अवमूल्यन गर्नु, राष्ट्र प्रमुख र सरकार प्रमुखले अधिकारको दुरुपयोग गरेको जनतालाई महसुस हुनु, संविधान विपरीत काम हुनु, संवैधानिक द्वन्द्वको अवस्थाका कारण लोकतान्त्रिक मूल्य र मान्यतामा ह्रास आउँदै जानु, अत्यधिक सत्तालिप्सा र सार्वजनिक जिम्मेवारीमा रहेकाहरू गलत आचरणमा अभ्यस्त हुनु नै मुख्य कारण हुन् । यसै गरि बहुदलीय राजनीतिक प्रणालीमा रहेका दलहरूको संख्या धेरै हुनु पनि अर्को कारण हो । कुनै पनि देशमा राजनीतिज्ञहरूले विकास गरेका राजनीतिक संस्कारका आधारमा सरकारको कामकारबाही र राजनीतिक स्थिरता निर्भर रहन्छ । अन्य देशहरुको हेर्दा राजनीतिक दलहरू थोरै संख्यामा रहेका देशमा तुलनात्मक रूपमा स्थिरता भएको पाइन्छ । जहाँ अस्थिरता छ त्यहाँ जनताले तिरेको राजस्वको अनुचित व्यवस्थापन र परिचालन, आवधिक निर्वाचनको निष्पक्षतामा प्रश्न, विचार र अभिव्यक्ति स्वतन्त्रतामा संकुचन, आलोचना स्विकारेर सुध्रिने राजनीतिक संस्कारको अभाव, असहिष्णु र पूर्वाग्रही व्यवहार जस्ता परिस्थितिले राजनीतिक अस्थिरताको अवस्था सिर्जना हुन्छ । यी अवस्थामा सुधार नहुँदा द्वन्द्व चर्किंदै अन्त्यमा राजनीतिक प्रणाली नै संकटमा पर्ने र व्यवस्था नै विघटन भएका घटना पनि विभिन्न देशमा देखिंदै आएको छ । हाम्रो देशको यो अस्थिरता र संक्रमणकालीन अवस्थाले पनि त्यहि संकेत देखाएको जस्तो लाग्छ ।
स्थिरतासँग राजनीतिक प्रणाली पनि जोडिएको हुन्छ । हाम्रो देशमा अहिलेको राजनीतिक स्थिरता देशले अवलम्बन गरिरहेको राजनीतिक प्रणालीका कारण निम्तिएको समस्या हो । विश्वभर समानुपातिक प्रतिनिधित्व प्रणालीले सबै वर्गको प्रतिनिधित्व गरी लोकतान्त्रिक पद्धतिको विकास हुने विश्वास गरिएको छ। तर त्यो संख्या, राजनीतिक अवस्था, हावापानी, देशको अन्य अवस्था सबैको राम्रो अध्ययन गरेर गर्दा मात्र सफल हुने रहेछ । हाम्रो देशमा कुनै गहन अध्ययन नै नगरि हचुवाको भरमा यि सबै राजनीतिक अभ्यास गरिएकोले यो अवस्था झेक्नु परेको हो ।
हाम्रो देश नेपाल धेरै लामो समयदेखि राजनीतिक लगायत सबै प्रकारका अस्थिरतामा रुमलिएको देश हो। काङ्ग्रेस एमाले र माओवादी नै देशका प्रमुख राजनीतिक दल हुन । जनताले यिनलाई पटक पटक पालैपालो अवसर पनि दिएकै थिए। तर बहुमत प्राप्त गरी बनाएको सरकारबाट पनि राजनीतिक स्थिरता कायम भई देश समृद्धिको दिशामा बढ्न सकेन । जनताको अपेक्षामा पटक पटक तुसारापात हुँदा पनि नागरिकहरूले आशा गरिनै रहेका थिए । तर जहिले पनि सत्तामा पुगेपछि दलभित्रको स्वार्थ गत अर्थहीन द्वन्द्वका कारण देशमा धेरै लामो समयसम्म देखिएको यो अहिलेको अवस्थाबाट जनता आजित भएका छन् ।
राजनीतिक दल कहिले बहुमत भएको सरकारले सदन विघटन गरि मध्यावधि घोषणा त कहिले सत्तामा टिक्न न्यायालयको सहयोग मै अलमलिएको देखिन्छ । कहिल्यै पनि जनताको हितको लागि आवाज उठाएको पाइदैन । सधैं आ–आफ्नै हितको लागि नेताहरु दौडिरहेको देखिन्छ । आफ्नो फाइदाको लागि संसद्मा विचाराधीन नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रिय स्वार्थमा केन्द्रित हुँदै अन्तिम रूप दिँदै गर्दा सरकारले कुर्सीको मोलतोल मिलाउने हिसाबले नागरिकता सम्बन्धी अध्यादेश ल्याई अगाडि बढायो । जुन कुरा आम जनताको हित विपरीत छ ।
देश कोभिड–१९ संक्रमणबाट प्रभावित भई नागरिकहरूले अक्सिजन र भ्याक्सिन नपाइरहेको संकटपूर्ण अवस्थामा दलहरू भने राजनीतिक खिचातानीमा लिप्त रहे। यो स्वास्थ्य संकटको समयमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा उल्टै कुर्सीको खेलमा लम्पसार परेको दृश्य देख्दा आम जनतालाई राजनीतिदेखि अलग रहने तीब्र इच्छा जागेको छ । राजनीतिले जनताको हितभन्दा पनि नेताको हित बढि गरेको देखिन्छ । जुन कुरा अन्य देशहरुमा हुँदैन ।
देशमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचारीलाई दण्ड दिनु पर्ने नेताहरु नै भ्रष्टाचारमा लागेर देशलाई दोहन गर्न लागेपछि कसको के आशा गर्नु र ? नेताहरु भ्रष्टाचारका बिचौलियाको रक्षा गर्न पुग्छन् । विभिन्न समयमा स्वास्थ्य सामग्री खरीद, मेसिन खरिद, भवन, सडक, स्कुल, अस्पताल, खोप खरिद लगायत धेरै कुरामा कमिसनको कुरा बाहिर आउँछ तर त्यसको विषयमा छानबिन र कारबाही गर्न सरकारी सक्रियता जहिले जो सरकारमा भए पनि शून्य हुन्छ । सबै राजनीतिक दल आफ्नै दलभित्रको शक्ति समीकरणको द्वन्द्वमा सरकार कमजोर हुँदै गयो । संविधानलाई आफूखुशी व्याख्या गर्ने जस्ता गैरलोकतान्त्रिक हर्कत सरकारका लागि सामान्य बन्न पुगे । द्वन्द्व आमन्त्रण गर्ने, संक्रमणकालीन अवस्थालाई निरन्तरता दिने र अस्थिर सरकार एवं राजनीतिक अवस्था सिर्जना गर्न सधैं सबै सत्तारूढ दल अग्र स्थानमा नै रहे । त्यो अवस्था हेर्दा देशमा अझ केहि समय अस्थिरता नै रहिरहने देखिन्छ ।
नेपालमा राजनीतिक अस्थिरता बढाउन बाह्य पक्षहरू समेत जिम्मेवार देखिएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतका बासिन्दाको ठूलो अंश नेपाल, भारत र अमेरिकामा शरणार्थीका रूपमा छन् । नेपालमा रहेका यी शरणार्थीबाट तिब्बत क्षेत्र असुरक्षित रहेको निष्कर्ष निकाल्दै चीनले नेपाललाई आफ्नो सुरक्षा रणनीतिका कारण महत्त्वपूर्ण मान्दै आएको छ । यी सबै घटनाक्रमको सूक्ष्म अध्ययन गरिरहेका जनता राजनीतिक पार्टीहरुको रबैयाप्रति असन्तुष्ट छन् । नेपालको वर्तमान राजनीतिक गतिरोध र अस्थिरताले आन्तरिक र बाह्य दुवै प्रकारका हस्तक्षेपका लागि अनुकूल अवस्था सिर्जना गरिदिएको छ । राजनीतिक अस्थिरताले नागरिकहरूमा राष्ट्रियताको भावना विकास गर्छ । सबैलाई राष्ट्रको महत्त्वपूर्ण अंगका रूपमा स्वीकार गर्ने वातावरण तयार हुन्छ ।
समुदाय, जातजाति, वर्ग, क्षेत्र, संस्कृति, धर्म आदिका आधारमा देखिएको पृथक्तालाई निराकरण गर्दै आपसी सौहार्दता कायम गर्न सक्ने गरी नेतृत्व प्रस्तुत हुँदा देशको समृद्धि र राजनीतिक स्थिरता दुवै सम्भव भएका उदाहरण विभिन्न देशमा पाइएका छन् । सभ्य सुशिक्षित र सुसंस्कृत समाजले अशिक्षित देशका नागरिकको तुलनामा राष्ट्रिय उत्थानमा योगदान गर्दै राजनीतिक स्थिरता कायम गर्न सफल भएका छन् । राजनीतिक पद्धति र सरकारप्रति नागरिकले विश्वास गर्न नसक्दा व्यक्तिवादी सोचको विकास हुन्छ । यसैले सामूहिक भावना विकास गरी राष्ट्र निर्माणका लागि राजनीतिक स्थिरता पूर्व शर्त हो । तर हाम्रो देशमा भन्ने एउटा छ अनि गर्ने अर्कै हुन्छ । आधुनिक विश्वमा अत्यधिक प्रतिस्पर्धा, सबल राज्य संयन्त्र, सक्षम कूटनीति, प्रभावकारी नीति निर्माण, सुदृढ अर्थतन्त्र बनाउनु सबै देशका लागि चुनौती हुन् । राजनीतिक अस्थिरताले यी सबै पक्षमा अस्तव्यस्तता सिर्जना गर्छ । राजनीतिक स्थिरताबाटै राष्ट्रको पहिचान बन्नुका साथै समाजको एकीकरण र राष्ट्रिय एकता सम्भव हुन्छ। यस्तो समाजले विकास र प्रशासकीय आधारशिलाको निर्माण गर्दै राज्यको समग्र विकास गर्छ । राजनीतिक स्थिरताबाट राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको उच्च स्तरको प्रगति सम्भव हुन्छ ।
नागरिकले सहि निति बोकेको दल वा उम्मेदवारलाई मत दिने हो । खराब उम्मेदवारलाई मत दिन्न र वाचा गरेअनुसार काम नगर्ने जनप्रतिनिधिलाई दिएको मत फिर्ता लिन्छु भन्न पाउनु पर्ने व्यवस्था हुँदा राम्रो हुने थियो । असल उम्मेदवार छनोटको मान्य विधि आवश्यक छ । दलहरूले असल उम्मेदवार छान्न सके र मतदाताले आलोचनात्मक चेतका साथ मत दिन सके भने मात्र लोकतन्त्रको महत्त्व हुन्छ । त्यसो नभए लोकतन्त्र वास्तविक नभई देखावटी मात्र बन्न सक्छ । आम निर्वाचनमा शक्तिको दुरुपयोग हुँदा गलत नतिजा आउन सक्छ । मृत्यु भइसकेका व्यक्तिको नाम समेत भोट हालेको किस्सा गाउँघरमा चुनाव पछि सुनिन्छ । निर्वाचनमा होमिने आम जनता एवं उम्मेदवारहरूले वर्तमान संविधानप्रति वफादारी जाहेर गरि धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विषयमा खुलेर बोल्न सक्नुपर्छ ।
अब देश साँच्चै बनाउने नै हो भने बुद्धिजीवी वर्गलाई साथ लिएर अगाडि बढ्नुको विकल्प छैन । एउटै मानिसलाई सबै कुराको ज्ञान हुँदैन । यस कारण ‘थिंक ट्यांक’ बनाउँदा त्यस मार्फत सहि निर्णय लिन सकिन्छ । तर अहिले भएको “थिंक ट्यांक“ झारा टार्ने प्रकारको मात्र भएको छ । तर अब आउने दिनहरुमा प्रतिष्ठान जस्ता थिंक ट्यांकले फराकिलो कार्यक्षेत्रमा प्रयोग गर्दै नीतिगत प्रभाव विस्तार गर्नुपर्ने देखिन्छ । हाम्रो देशको राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ । तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक इमानदारहरू राजनीतिबाट जहिल्यै पाखा लगाइएका छन् । बाहिर रहेकाहरु कहिल्यै राजनीतिमा आउनै चाहेनन् ।
राजनीतिक दलका घोषणापत्र हेर्दा लाग्छ हाम्रो देश अब तुरुन्तै केहि भइहाल्छ । तर विडम्बना भन्नु पर्छ बिगत लामो समयदेखि यि तमाम कुराहरु पेपरमा मात्र सिमित भइरहेका छन् । अल्पसंख्यकका समस्यादेखि देशमा रहेका सबै किसिमका समस्या हल गर्ने खालका कुराहरु आएका हुन्छन् । तर वास्तविकता भने बिल्कुल फरक भएको छ । यस विषयमा अब आम राजनीतिक दल सजग भइ अगाडि बढ्न अत्यावश्यक छ । बजार आफैंमा गतिशील हुन्छ र यहाँका राजनीतिक दर्शनहरूलाई पनि बजारको बदलिँदो अवस्था तथा विश्वका मुलुकहरूबीचको बढ्दो आर्थिक अन्तर्निर्भरता अनुरूप लचिलो बनाउनुको विकल्प देखिँदैन । तर हाम्रोमा भने राजनीतिक दल र सरकार आफैंले देशको अर्थतन्त्र सङ्कटमा पु¥याएको हो भन्ने कुरा अहिले आम जनताको बुझाईमा रहेको छ । यहाँ जसले जे नै भने पनि कुनै पनि सरकारले सहि निर्णय लिएर देशलाई सहि गति दिन नसकेको कुरा सत्य हो । सबैले अपारदर्शी र अवैध कारोबारीलाई नै बढि प्रोत्साहन दिएर देशको यो हालत बनाको कुरा जसले जसलाई आरोप लगाए पनि प्रष्ट नै छ । अब यो आउने चुनावपछि आम जनताको अपेक्षा भनेको देशमा स्थिरता कायम भइ देश विकसित होस् भन्ने छ । आम जनतालाई अब पार्टी र कुन नेता भन्ने कुरा गौण भैसकेको छ । त्यसैले अब आम नेता र राजनीतिक पार्टीले जनताको भावना एवं देशको आवश्यकता अनुसार आफ्ना भावना र निति बनाउन आवश्यक छ । होइन भने अब हाम्रो देशमा कुनै पनि समय ठूलो बिद्रोह हुन्छ र आजसम्मका सबै उपलब्धि गुम्न सक्छ । अब यहि नै उपयुक्त समय हो भन्ने बुझेर हिजोका कमिकमजोरीलाई आत्मसात गर्दै सबैसँग सहकार्य गर्दै अगाडि बढौं । यसैमा सबैको भलो छ ।








