आम सञ्चारले रचनात्मक भूमिका खेल्नु आवश्यक छ–प्रल्हाद दाहाल


विश्व अहिले प्रविधिका कारण एउटा सानो कोठाभित्र अटाएको छ । हरेक देशका हरेक कुरा आफ्नो कोठामा बसेर सेकेन्डमा थाहा पाउन सक्छौं । तर यो अवसरको सदुपयोगभन्दा पनि दुरुपयोग बढि भएको भएको हुँदा सबैमा नैराष्यता छाएको देखिन्छ ।
आजकाल यि सबै कुराको सहि प्रयोग गरेर सहि, सत्य, तथ्य आम जनताकोमा ल्याउने भनेको आम सञ्चार माध्यमले नै हो । तर त्यसो हुन भने सकेको छैन । मुलुकको चौँथो अङ्ग पत्रकारीता, देश विदेशका सत्य तथ्य घटनाहरुलाई उजागर गरी मूलुकको अग्रणी भूमिका खेल्ने माध्यम भनेको आम सञ्चार माध्यम हो । विश्वमा यसको इतिहास केलाउने हो भने ल्याटिन भाषाको कम्युनट शब्दबाट सञ्चार शब्द बनेको भन्न सकिन्छ र यस शब्दलाई छुट्याएर हेर्दा समंचार हुन आउँछ । जसलाई परिभाषा गर्न सन्देश सम्बाहक, खबर र ग्रहणको माध्यमद्वारा सुचना सम्प्रेषण गर्नु हो । सञ्चारलाई जनबोलीको भाषामा भन्ने हो भने आफ्नो विचार र खवरलाई एक अर्का ठाउँमा पुर्याउने माध्यम मान्न सकिन्छ भने सञ्चारले व्यक्ति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय घटनाको सत्य तथ्य जानकारी गराउन सफल रहेको छ र यसलाई अझ सतहमा पुगेर हेर्दा वा सोभन्दा बढी व्यक्तिहरुको भाव विचार सत्य, तथ्य अनुभूतिको आदान प्रदानलाई नै सञ्चार भन्न सकिन्छ ।

गणतन्त्र, लोकतन्त्र वा प्रजातन्त्रमा जनमत निर्माणका लागि स्वतन्त्र सञ्चार माध्यमको अहम् भूमिका रहेको हुन्छ । देशमा मानव अधिकारुको लागि र लोकतन्त्रका लागि प्रशंसामात्र नभएर आलोचनाको पनि आवश्यकता रहेको हुन्छ र त्यो आवश्यकता पूरा गर्न र अधिकार स्थापित गराउन स्वतन्त्र सञ्चार माध्यमको विशिष्ट भूमिका रहेको हुन्छ । देशका नागरिकहरुलाई आफ्नो कर्तव्य सँगै अधिकारको ज्ञान गराइ मुलुकको सञ्चालनको जिम्मेवारी बोकेका शासकहरुलाई जिम्मेवारीको बोध गराइ उचित मार्ग तर्फ अगाडि बढ्न अधिकारको दुरुपयोग नगर्न सचेतकको काममा पनि सञ्चारको महत्वपूर्ण भूमिका रहेको छ । देशका प्रमुख अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका भित्र कुनै प्रकारको असन्तुलन पैदा भएमा मुलुकको भविष्य अन्धकार बन्न पुग्छ र यस अवस्थामा सञ्चार तथा पत्रपत्रिकाले सत्य र तथ्य विषयवस्तुको खोज र प्रकाशनका माध्यमद्वारा आ–आफ्नो कर्तव्यदिशा तर्फ अगाडि बढाउन पनि महत्वपूर्ण भूमिका रहन्छ । विभिन्न सञ्चार माध्यमबाट प्रसारित हुने विषय वस्तु समसायिक हुनुपर्दछ भने जसभित्र काल्पनिक, भ्रामक र धर्म सस्कृति रहनसहन रीतिरिवाज तथा राष्ट्रियता माथि कुनै आँच आउने किसिमका विषयवस्तु हुनु हुँदैन । सञ्चारले हरेक क्षेत्रमा खबरदारी गर्नुपर्दछ भने बाटो विराएकाहरुलाई सहीबाटो वा गन्तव्यतर्फ उन्मुख गराउन जरुरी हुन्छ ।

नेपाली सञ्चार वा पत्रकारिताको पृष्टभूमि हेर्ने हो भने मोतीराम भट्टद्वारा भारतको काशीबाट प्रकाशित ‘गोरखा भारत जीवन मासिक’ पत्रिका लिन सकिन्छ । यो १९४३ मा आएको थियो । त्यसपछि ‘सुधासागर’ र १९५८ मा जयपृथ्वी बहादुर सिंह लगाएतका अन्य विशिष्ट व्यक्तिद्वारा सञ्चालित गोरखापत्र नेपालको प्रमुख अखवार मानिन्छ । त्यसपछि अन्य धेरै पत्रपत्रिका र २००४ सालमा तत्कालिन प्रधानमन्त्री पद्म शमशेरले सर्वसाधरणहरुलाई सञ्चारको पहुँचभित्र रहन स्वतन्त्रता दिएपछि परिणाम स्वरुप २००७ सालमा नेपालमा रेडियो नेपालको स्थापना भई देश विदेशका घटनाहरु सर्वसाधरणमा आउन थालेको देखिन्छ । विकासको क्रमसँगै २०४२ सालमा नेपालमा टेलिभिजन सुरु भयो भने क्रमसँगै अन्य धेरै सञ्चारका माध्यमहरु आउन थाले जस्तै विभिन्न एफ.एम रेडियो, इन्टरनेट आदि ।

आज भोली निकै फस्टाउँदै गएको युटुव च्यानल देखिन्छ । जसले देशका विकट ठाउँ र त्यसका कुना कुनामा पुगेर सत्य र तथ्य खोतल्ने काम गरेको पाइन्छ । कसैको हक अधिकार स्थापित गर्नु कुनै कारणले पारिवरिक आर्थिक, सामाजिक वा मनावैज्ञानिक आदि कारणले पीडित व्यक्तिहरुलाई न्याय दिलाउन त्यस्ता च्यानलहरुको स्थान आज भोलि उच्च छ । तर यस्ता च्यानलहरुकले कसैको व्यक्तिगत जीवनमाथि हस्तक्षेप गर्दै उनीहरुको चरित्र र घटना उदाङ्गो पारेको पाइन्छ । यस्तो क्रियाकलापले कतै समाज नै नाङ्गिदै जाने त हैन ? भन्ने चिन्ता पनि बढ्दो छ । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । २१ औँ शताब्दीका हामी सचेत र शिक्षित नागरिक तर पनि कसैको व्यक्तिगत जीवनलाई सार्वजानिक गरेर आफ्नो भ्यूज बढाउने नाममा कतै गलत त भएको छैन ? यसमा सम्बन्धित निकाय सचेत हुन जरुरी पनि देखिन्छ । जो कुनै घटना समाजबाट नै समाधान गर्न सकिन्छ त्यसलाई सार्वजानिक गरिदा व्यक्ति र समाजको नै बदनाम हुन सक्ने कुरामा पनि ध्यान जान जरुरी छ । यसले सकारात्मक रोल खेल्नुपर्नेमा आजकाल नकारात्मक रोल बढि खेलेको देखिन्छ । यसलाई सरकारले पनि उचित रोल खेल्न आवश्यक छ । होइन भने यसले समाजमा ठूलो असर पार्ने देखिन्छ ।

समयको परिवर्तनसँगै व्यक्तिले पाएको वाक् स्वतन्त्रताको दुरुपयोग नहोस् र स्वतन्त्र लेखनकलाले व्यक्ति, समाज र सिंगो मुलुकको मात्र नभएर समग्र विश्वको सत्य तथ्य घटनालाई सम्पूर्ण मानव समाज बिच उदाङ्ग पार्न सकोस् । २१ औँ शताब्दीको मूल्य र मायता तर्फ आमसञ्चार लाग्न सकोस् साथै समाचार संकलन गर्ने नाममा कसैको व्यक्तिगत जीवन, धर्म संस्कृति, जाति तथा राष्ट्रियतामा कुनै आँच नआओस् । राष्ट्रको प्रमुख अङ्गको रुपमा ससम्मान विकास हुँदै जाओस् । सत्य तथ्य समाचार संकलन प्रकाशनका क्रममा कुनै दवाव विना नै यस क्षेत्रले अझ उचाईतर्फ उन्मुख हुन सकोस् । पैसा र पदको कारणले कुनै सत्य र तथ्य घटना ओझेलमा नपरोस् र विधि र शासनको सम्मान गर्दै यो विज्ञान र प्रविधिको युगमा २१ औँ शताब्दीको मूल्य र मान्यतालाई अवलम्वन गर्दै आम सञ्चारले रचनात्मक भूमिका खेल्नु आजको मुख्य चुनौति र आवश्यकता रहेको स्पष्ट देखिएको छ । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्