हरितालिका अर्थात चेलीपर्व तिज बारे–तारा भट्टराई


 

आजदेखि नेपाली चेलीहरुको विशेष पर्व अर्थात् चाड हरितालिका मनाइदैछ । कोभिड–१९का कारण पर्व साघुरिएको छ र पनि सस्कृतिको निरन्तरता भने हुने छ । त्यसैले यो पर्व बारे केहि लेखेको छु ।

यो बेला चेलीहरु सौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा ब्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथा—व्यथाहरुलाई गीतको माध्यमद्वारा पस्केर भव्यताका साथ मनाईने तीज यो बर्ष घरमै मनाउँदै छन् ।
माहिलाहरुको स्वतन्त्र पर्वको रुपमा रहेको तीज नेपाली चेलीहरुका लागि विशेष गरी विवाहित नव—बुहारीहरुका लागि एउटा पर्व, खुशी र भेटघाटको मेला नै हो भन्दा अतिशयोक्ति नहोला । अन्य पर्वहरुमा विदा नपाएर माइत जान नसकेका या त व्यस्तताले जानुनभएका र सासुको अधिनमा रहेका सबै जना महिलाहरुले यो बेला माइती गएर पूजाआजा, उपासन, दर र आफ्नो कथा व्यथा समेटिएका नारी वेदना र मुक्तिका गीत गाएरु रमाइलो गर्दै मनाउने यो पर्व महिलाहरुका लागि एउटा माइती मिलन र संगमको अवसर पनि हो ।
परापूर्व कालमा सानै उमेरदेखि श्री महादेव स्वामी पाउँ भनी आराधना गरिहेकी हिमालय पर्वतकी छोरी पार्वतीलाई उनका बाबु हिमालय पर्वतले श्री महादेवसँग नभई विष्णुसँग विवाह गरिदिन लागेपछि पार्वतीले आफ्नो चाहना अनुरुप महादेव पति नपाउने भएको थाहा पाएपछि उनले आफ्ना साथीहरु डाँकी आफुलाई लुकाएर राखी दिन अनुरोध गरिन.र उनको अनुरोध अनुसार साथीहरुले पार्वतीलाई एउटा जंगलमा लगी लुकाएर आए ।
तत्पश्चात पार्वतीले त्यहि जंगलमा बसी महादेवको नाममा शिवलिङ्ग स्थापना गराई पूजा आराधना गरिरहिन् । अन्तत्वगत्वा उनी सफल भइन् अर्थात् उनले महादेव पति पाइन् यही साथीहरुद्वारा हरण गरी एकान्तमा राखेको बेला गरेको व्रत हुनाले उक्त व्रतको नाम हरितालिका रहन गयो ।
फलस्वरुप त्यही दिनदेखि प्रत्येक नेपाली चेलीहरुले भाद्र शुल्क द्वादशीदेखि ऋषि पञ्चमीसम्म तीज पर्व भनेर हरितालिका मनाउने थाले भन्ने किम्बदन्ती पाइन्छ ।
हरितालिकाको अघिल्लो दिन राती सबै चेलीहरु जम्म भएर दर खाएपछि शुरु हुने तीजको दिन प्राय चेलीहरु निराहार पानी समेत पनि नखाईव्रत बसी महादेवको मन्दिरमा गई पूजाआजा गर्ने र नाचगान गरी नारी हृदयका भावनालाई गीत संगीतबाट उजागर गर्ने गर्छन् भने रात्रीमा समेत जाग्राम बसी रमाइलो गर्ने प्रचलन यद्यपि छ । यसरी यो दिन व्रत बसेर विवाहित महिलाहरुले श्रीमान्को गोडाको पानी खाएर ढोगेमा आयु लामो हुने विश्वास छ भने अविवाहितहरुले सुयोग्य, कर्मठ र शिवजस्तै पति पाउन भनी तीजको व्रत बस्ने गरेको पाइन्छ ।
त्यसैगरी तीजको दोश्रो ठूलो दिन अर्थात् ऋषिपञ्चमी महिलाहरुले आराधना,व्रत, स्नान पुूजा पाठ र दान गरेर मनाएने गरिएको ऋषिपञ्चमीमा पनि महिलाहरु स्वभावैले अधिनमा रहन नसक्ने हुन्छन् रे उनीहरुले कहिले काँही आँखा छलेर भए पनि कुनै न कुनै दोष बोकेका हुन्छन् रे, त्यसै गरी महिवानारी भएको बेलामा समेत छुवाछुतको (महिनावारी भएको बेला छोएको पानी समेत अरुले खान नहुने भन्ने चलन यद्यपी गाउँघरतिर कायमै छ )दोष लागेको हुन सक्छ भनेर त्यो दोषको प्रायश्चित स्वरुप ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजाआजा गरेमा दोषबाट मुक्ति पाइ स्वच्छ रहिने विश्वासका साथ यो दिन याने भाद्र ऋषिपञ्चमीका दिन महिलाहरु बिहान सखारै उठेर नजिकको खोलामा गइ दत्तिउन पानीले स्नान गरी पानीलाई ऋषिको रुपमा सम्झेर उल्जने गर्छन् भने शिवको रुपमा ढुङ्गाका स.साना गट्टाहरुलाई जम्मा गरी गन्ने र सफागरी तिल चढाएर छोड्ने गर्दछन् ।
स्नान् पश्चात महिलाहरु शौभाग्य सुचकका रुपमा रहेका विशेषतः रोतो रंगको कपडा, चुरा , धागो, टीका आदि लगाई सजिएर खोलाबाट फर्कने गर्छन् । प्रायः गरी यो दिन शौभाग्य सूचकका सामाग्री प्रयोग गरे पनि कुत्रिम सुन्दरताको सामाग्री भने प्रयोग गर्ने गरेको पाइन्न । यसै दिन बिहान जिउमा माटो लगाई नुहाउने, ३६५ चोटी दत्तिवनले दाँत माझ्ने, स्नानस्थलमा पनि दतिवन लगी त्यसैले पानी छ्याप्ने, धूप बाली बास्ना लिने समेत गरेको पाइन्छ भने स्नान सकेपछी ब्राह्मणहरुद्वारा पूजापाठ गराइएको पञ्चमी पूजामा गइ पुजा गर्ने ,दान दक्षिण दिने, हातमा कुशको औठी लगाउने र महिलाले प्रयोग गर्ने ससाना सामाग्री पण्डितलाई दान दिएर ऋषिको नाममा अर्पेको भनी दोष मुक्तिको कामना गरिसकेपछि पूजाको प्रसाद स्वरुपमा एक छाक खाने र पुनः उहि क्रममा अर्थात् नाचगान गरी रमाइलो गरेर यो दिन बिताउने गरिन्छ ।
यसैगरी हरितालिका र पञ्चमीको विचमा पर्ने दिनलाई चौथीको रुपमा लिई पुरुषहरुले यस दिन साना तिना बिगोका कार्य गर्ने गर्छन् । यो दिन विगो गर्नाले अरु दिन त्यस्तो गर्न मन नजाने कथन अनुरुप चौथीको दिन केहि नराम्रा कार्य गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्