एकदर्जन भन्दा बढी पुस्तक प्रकाशित गरिसकेका सुप्रशिद्ध साहित्यकार महेन्द्र चालिसेको नियात्रा विधाको चौंथो कृति ‘क्षितिजका रङहरू’ काभ्रे जिल्लाको मण्डनदेउपुर–७, कुन्ताबेंसीस्थित श्री नव प्रतिभा इङ्लिस स्कुलको प्राङ्गणमा आयोजित एक भव्य साहित्यिक समारोहका बीच शनिबार लोकार्पण गरिएको छ । प्राज्ञ डा.दिनेशराज पन्त, रोचक घिमिरे, गोपी मैनाली, ठाकुर शर्मा भण्डारी, कृतिकार महेन्द्र चालिसे, युवराज मैनाली र होमप्रसाद चौलागाईं लगायतले एकसाथ कृतिको लोकार्पण गरेका हुन ।
कार्यक्रमका प्रमुखअतिथि प्राज्ञ डा. दिनेशराज पन्तले विमोचित कृति ‘क्षितिजका रङहरू’ ले पाठकको मन मष्तिष्कमा बस्न सफल हुने विश्वास व्यक्त गरे । कृतिबारे टिप्पणी गर्दै उनले भने, “लेखकको हृदयले जे कुरा महसुस गर्यो, त्यसलाई त्यसै गरी इमानदारिताका साथ उतार्दा नै एउटा उत्कृष्ट कृति जन्मिने बताए ‘’। प्राज्ञ पन्तले आफूले यो कृति एक बसाइमा पढि सिध्याएको उल्लेख गर्दै कृतिले पाठकको हृदयलाई पनि गहिरोसँग स्पर्श गर्न सफल हुने बताए ।
कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेले रमेश विकलसँगको आफ्नो सामीप्यता र साहित्यिक साखको चर्चा गर्दै आफ्ना युवावस्थामा अविरल बगिरहने इन्द्रावती नदीको किनारै किनार विकलसँग गरिएको साहित्यिक यात्रा र आउने–जाने क्रमका पुराना स्मृतिहरूलाई भावुक हुँदै स्मरण गरे । ‘क्षितिजका रङहरू’ कृतिका बारेमा चर्चा गर्दै उनले लेखक महेन्द्र चालिसेलाई केवल जनसाहित्यकार रमेश विकलको छोरा वा प्रखर साहित्यकार विजय चालिसेको भाइका रूपमा मात्र हेरिनु नहुने विचार व्यक्त गर्दै महेन्द्रले आफ्नै मौलिक शिल्प र साधनाद्वारा एक स्थापित साहित्यकारका रूपमा बलियो पहिचान बनाइसकेका उल्लेख गरे । वरिष्ठ समालोचक गोपी मैनालीले यात्राको पृष्ठभूमिका आधारमा मिहिन रूपमा मानवीय विशेषताहरू कोर्नु नै लेखक महेन्द्र चालिसेको मुख्य विशेषता रहेको उल्लेख गरे । लेखकले स्विट्जरल्याण्ड र फ्रान्स जस्ता युरोपेली मुलुकहरूको यात्रा संस्मरण प्रस्तुत गर्ने क्रममा मातृभूमि नेपाललाई सर्वोपरि रुपमा प्रस्तुत गर्नु नै चालिसेको लेखकीय विशेषता रहेको बताए । कार्यक्रमका अर्का समीक्षक ठाकुर शर्मा भण्डारीले यो यात्रा केवल सुखान्त भुक्तभोगको विवरण मात्र होइन बरु जीवनको यथार्थ संघर्ष र अनुभूतिको गम्भीर सार रहेको उल्लेख गरे । भण्डारीले यो कृति पठनीय संग्रहणीय र अनुकरणीय रहेको समेत बताए । कृतिकार चालिसेले सयौं पटक प्रवासको यात्रा गर्दा पनि नेपालप्रतिको अटुट प्रेम र नेपाली जातीको गौरवलाई सुन्दर ढंगले चित्रण गरेको बताए । सोही क्रममा युवराज मैनालीले महेन्द्र चालिसे काव्य घरानाका एक सक्रिय सदस्य रहेकाले उनको रगतमै साहित्य घोलिएको उल्लेख गर्दै आफ्नो गृहजिल्लामा चालिसेको कृति लोकार्पण हुनु गौरवको विषय रहेको बताए । उनले भाषा कला र साहित्यका उन्नयनका लागि गोकर्णेश्वर नगरपालिकाको प्रशंसनीय कार्य रहेको दृष्टान्त दिंदै मण्डनदेउपुर नगरपालिकाले पनि साहित्यका क्षेत्रमा राष्ट्रियस्तरको पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए । डा. विप्लव ढकालले नियात्राकार महेन्द्र चालिसेको बहुआयामिक स्रष्टाव्यक्तित्वको उच्च प्रशंसा गरे । उनले कृतिकार चालिसेलाई स्वदेशी भूगोलमा मात्र सीमित नरही विदेशी भूमिमा समेत माहुरीले जस्तै अथक विचरण गरेर पाठकहरूलाई ज्ञान र अनुभूतिको स्वादिलो मह प्रदान गर्न सक्षम साधकका रूपमा चित्रण गरे । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्यले साहित्यलाई माया गर्ने विद्यालयको उदारतापूर्ण कर्मको तारिफ गर्दै साहित्यप्रतिको अनुरागका रुपमा बुझ्न सकिने बताए । साहित्यकार तेजप्रकाश श्रेष्ठले महेन्द्र चालिसेसँगको सामिप्यताबारे प्रकाश पार्दै उनको लोभलाग्दो लेखन सक्रियताको प्रशंसा गरे । शुभकामना मन्तव्यकै क्रममा स्थानीय संचारकर्मी नवराज बजगाईंले आफू साहित्यलाई असाध्यै माया गर्ने एक पाठक रहेको बताउँदै आफ्ना मिडियाहरुमा साहित्यिक गतिविधिलाई उच्च प्राथमिकता दिने गरेको बताउँदै चालिसेको कृति सफलताको कामना गरे । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यकार महेश प्रसाईले मण्डन देउपुरसँगको आफ्नो मावली र ससुराली दुवै साइनो रहेको जिल्लामा यस्तो सुन्दर कार्यक्रमको आयोजना गरिदिने आयोजकप्रति आभार व्यक्त गरे । स्थानीय समाजसेवी दीपक पौडेलले विद्यालय व्यवस्थापन र त्यसका प्राचार्यको मुक्तकण्ठले प्रशंसा गर्दै अविरल बग्छ इन्द्रावती का माध्यमबाट स्थानीय भूगोललाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निभाउने रमेश विकलप्रति आभार व्यक्त गरे । सोही क्रममा मण्डनदेउपुर नपा वार्ड नं–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले समग्र रुपमा नगरपालिकाको पहलमा हुनुपर्ने यस्ता महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकामा विद्यालय परिवारको तारिफ गर्दै आगामी दिनमा आफूहरू पनि यस्ता कार्यक्रम आयोजना गर्नका लागि अभिप्रेरित भएको बताए । उक्त अवसरमा नियात्राकार महेन्द्र चालिसेले पाठक, शुभचिंतक र अग्रजहरुको माया साथ हौशला र विश्वासनै आफ्नो लेखनको उर्जा रहेको बताए । कृति लोकार्पणको श्रेय आफूलाई लेखन कर्ममा घच्घच्याइरहने युवराज मैनाली रमेश खनाल र विमल पौडेल प्रति समर्पित गर्दै चालिसेले उनिहरुप्रति आभार व्यक्त गरे । माझि समुदायका बालबालिकाहरुका लागि अंग्रेजÞी माध्यममाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आफैंले २५ वर्ष अघि स्थापना गरेको नव प्रतिभा विद्यालयले कार्यक्रमको आयोजना गरिदिएकोमा पनि चालिसेले धन्यवाद ज्ञापन गर्दै आफ्ना कृतिका बारेमा पाठकहरुको समुचित प्रतिक्रियाको अपेक्षित रहेको बताए । नव प्रतिभा इङ्लिस स्कुलका प्राचार्य होमप्रसाद चौलागाईको अध्यक्षतामा आयोजित विमोचन समारोहको सहजीकरण सोही विद्यालयकी शिक्षिका दीपिका ढकालले गरेकी थिईन । कार्यक्रममा डा.गोपाल पौडेलले शार्दूलविक्रीडित छन्दको ‘प्रेमिकाको सम्झनामा’ कविता वाचन गरे भने जुनु श्रेष्ठले विद्यार्थीलाई पढ्न अभिप्रेरित गर्ने गजल वाचन गरिन् । ‘क्षितिजका रङहरू’ विमोचन कार्यक्रममा वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधान, महाकाव्यकार बाजुराम पौडेल, नेपाल उपन्यास समाजका अध्यक्ष शङ्कर भारती, भाषा आयोगका सदस्य मातृका पोखरेल, परशुराम परासर, कर्णाद महर्षि,, स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवाल, वरिष्ठ साहित्यकार डिल्लीराम मिश्र श्रमजीवी, विमल अर्याल, वसन्त रिजाल, एनबी जनकपुरी, प्रमोद स्नेही, सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल, गजलकार प्रमोद भण्डारी, आलोक चालिसे, रचनाका सम्पादक प्रतीक घिमिरे, लेखक, सम्पादक तथा सञ्चारकर्मी माधव घिमिरे अटल, दुर्गाप्रसाद अधिकारी भमरकोटे, ध्रुबराज थापा, निबन्ध आचार्य, एन्जल निलु, बिमल कोइराला, रुपा चालिसे लगायत दुई सय भन्दा बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो ।