मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिनुहुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)लाई  शुक्रबार  इमेल पठाउँदै उहाँले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिनुभएको हो ।
 ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहनुभएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।
हाल उहाँ त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहनुभएको छ । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई/दुई खेल खेल्ने तय भएको छ ।
ह्वाटमोर आठ महिना अघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको थियो ।
क्यानले खुला प्रतिस्पर्धाबाट उहाँलाई प्रशिक्षक नियुक्त गरेको थियो । कोरोना महामारीका कारण बाँकी समय परिवारका साथ बिताउने भन्दै ह्वाटमोरले राजीनामा पत्र इमेल गर्नुभएको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्