काभ्रेपलान्चोक – कोभिड संक्रमित भई मुक्त भए पछि पनि स्वास्थ्यमा समस्या आएमा बनेपा हेल्थ केयरमा आएर पोष्ट कोभिड क्लिनिक ओ.पि.डि मा स्वास्थ्य जांच तथा परामर्श लिन सकिने भएको छ ।
हेल्थ केयरमा कोभिडबाट संक्रमण मुक्त भइसके पश्चात स्वास्थ्यमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै ‘पोष्ट कोभिड क्लिनिकको थप ओ.पि.डि. सेवा ’ सुरु गरेको छ । बनेपा नगरपालिका वडा नं. ८, मयूर हल चोकमा अवस्थित गुणस्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको बनेपा हेल्थ केयरले कोभिड संक्रमण मुक्त भइसके पश्चात स्वास्थ्यमा आउन सक्ने समस्या संगै ति समस्याहरुवाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै डा. रविन्द्र प्रसाद राजभण्डारीको टोलीबाट कोभिड संक्रमण मुक्त भएका व्यक्तिको लागी उक्त पोष्ट कोभिड क्लिनिकको थप ओ.पि.डि. सेवा प्रदान गर्ने भएको हो ।
कोभिड संक्रमणबाट मुक्त भए पनि धेरै व्यक्तिहरुलाई छाति भारी हुने, स्वास फेर्न गाहे हुने, थोरै हिड्दा पनि स्वां स्वां हुने, निद्रा नलाग्ने, टाउको दुख्ने, मानसिक समस्याहरु आउने जस्ता समस्याहरु देखिरहेका छन् । यी यस्ता समस्याहरुलाई समयमा नै व्यावस्थापन गरिएन वा बेवास्ता गरियो भने पछि झन् ठुलो समस्याहरु हुने कुरा चिकित्सकहरुले जानकारी गराउदै आउनुभएको छ । यो विषम परिस्थितिमा हाम्रा चिकित्सक तथा कर्मचारीहरुलाई सम्पुर्ण स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित गराई हाम्रा सेवाहरु विशेषज्ञ ओ.पि.डि. सेवा, ओ.पि.डि. सेवा, फार्मेसी, इमर्जेन्सी डे – केयर, भिडियो एक्स–रे, प्याथोलोजी ल्याव निरन्तर रुपमा दिइरहेको समेत जानकारी गराउन चाहान्छौं । मानव सेवामा समर्पित यस बनेपा हेल्थ केयरले आम विरामीहरुलाई आफ्नो स्वास्थ्य जांच तथा उपचार गर्न आउदा स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित भई स्वास्थ्य सेवा लिनुहुन हेल्थ केयरका प्रबन्धक निर्देशक जितेन्द्रकुमार थापाले अनुरोध गर्नुभएको छ ।








