काभ्रेपलान्चोक – विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । बुधबार राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने बताए । राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधीनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहति दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।
राष्ट्रिय झण्डा दिवस काठमाण्डौ साथसाथै कर्णाली सुर्खेतमा कमल प्रसाद लामिछानेको संयोजनमा कार्यक्रम सम्पन भयो।कंचनपुर जिल्लामा दिनेश भट्टको संयोजनमा तथा बुटवलमा पहिलो पाईला नेपाल ले संयोजन गरि तेश्रो राष्ट्रिय झण्डा दिवस सम्पन्न भएको छ। उक्त कार्यक्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, जेरि ताम्राकार, पत्रकार ऋषी धमला, विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषीकेश जंग शाहले मन्तब्य राख्नु भएको थियो। कार्यक्रमका बिच राजानन्द माण्डव्यको मेरो झण्डा फरफराउछ नामक गित समेत सार्वजनिक गरिएको थियो। उक्त गित तिलक बस्नेत तथा राजानन्द माण्डव्यको स्वरमा, सुरताल डिजिटल म्युजिक स्टुडियोले रेकर्डिङ गरेको थियो।