बनेपा–बनेपामा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी काभ्रेको धुलिखेल नगरपालिका ८ भट्टीडाँडाका २८ बर्षका सत्यमान तामाङ र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको हो ।
बनेपा नगरपालिका ६ मा ना १२ प ७४२९ नम्बरको डिस्कभर मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको एफ जेड मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ का बिकास बस्नेत, काभ्रेको धुलिखेल नगरपालिका ४ का १८ बर्षका अनिल मगर, उदयपुर कटारि ६ का १८ बर्षका सुबास मगर रहेका छन् । घाइते बस्नेत नेपाली सेनामा कार्यरत छन् । उनलार्ई थप उपचारका लागि नेपाली सेनाको छाउनी अस्पतालमा रिफर गरिएको छ भने सुबास र अनिलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।