आज २०७७ साल असार २८ गते आइतबार माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति श्री गिरिराजमणि पोखरेलज्यूको अध्यक्षतामा काठमाडौँ विश्वविद्यालय सभाको ८७ औँ बैठक विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सम्पन्न भयो ।
बैठकमा उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रजिस्ट्रार प्रा. डा. सुबोध शर्माले प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा आ. व. २०७७–७८ का लागि केन्द्रीय कार्यालय र ६ वटा स्कुलको १ अर्ब ४९ करोड र स्कुल अफ मेडिकल साइन्सेज र अस्पताल सेवाको २ अर्ब २१ करोड गरी कूल ३ अर्ब ७० करोड रुपियाँको वार्षिक बजेट प्रस्तुत गरिएकोमा त्यसलाई स्वीकृत गरियो भने आ. व. २०७५–७६ को लेखापरीक्षण प्रतिवेदन पनि पारित गरियो ।
काठमाडौँ विश्वविद्यालयको आ. व. २०७६–७७ को लेखापरीक्षण गराउन पीपी प्रधान एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने पनि बैठकमा निर्णय गरियो ।
काठमाडौँ विश्वविद्यालय सभामा यसअघि मनोनयन गरिएका सदस्यहरूको कार्यकाल समाप्त भएकाले सम्बन्धनप्रदत्त कलेजका तर्फबाट प्रा. डा. चन्दा कार्की, चन्दादाताहरूमध्येबाट श्री राजेन्द्र खेतान र श्री राजीव राजभण्डारी तथा लब्धप्रतिष्ठित विद्वान्हरूमध्येबाट डा. बालगोपाल वैद्य, डा. तीर्थबहादुर श्रेष्ठ, श्री रामेश्वर खनाल, डा. स्वर्णिम वाग्ले र श्री विष्णुबहादुर कार्की एवं उद्योगपतिहरूमध्येबाट श्री ज्ञानेन्द्रलाल प्रधान र विषयगत सङ्कायको वर्णानुक्रम अनुसार स्कुल अफ इन्जिनियरिङका शिक्षकहरूमध्येबाट प्रा. डा. विवेक बराललाई विश्वविद्यालय सभाको सदस्यमा ३ वर्षका लागि मनोनयन गरियो ।
सभामा कोभिड — १९ ले ल्याएको अवस्था र काठमाडौँ विश्वविद्यालयको भावी कार्यक्रमका विषयमा जानकारी गराउन काठमाडौँ विश्वविद्यालयद्वारा निर्मित सङ्क्षिप्त वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।







