विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) का कारण देश लक डाउनमा छ । संसारभरका मानिस डर त्रासमा छन् । आवत जावत बन्द हुनुका साथै स्कुल, कलेज, व्यवसाय, कलकारखाना, उद्योगधन्दा सबै ठप्प छन् । नेपालमा पनि चैत्र ११ गते विद्यालयको अन्तिम परीक्षा शुरु हुने बेला कोरोना भाइरस (कोभिड–१९) देखिएका कारण लकडाउन शुरु भयो र कति विद्यालयले परीक्षा सके भने कतिको त अन्तिम परीक्षा सकिन पनि पाएन । अहिले अभिभावक, शिक्षक, विद्यार्थी लकडाउनका कारण पठनपाठन बन्द भएर अन्यौलमा छन् ।
विद्यालय नखुल्दासम्म के गरेर विद्यार्थीहरुलाई समयको सदुपयोग गराउने भनेर उपायको खोजिमा छन् । यसरी उपायको खोजि हुनु राम्रो कुरा हो तर उपायको खोजि सगै त्यस बारे राम्रो अध्ययन गरेर त्यसको फाइदा बेफाइदाको बारेमा सबै कुरा राम्रोसँग बुझेर अगाडि बढ्नु पर्ने हुन्छ । अन्यथा सबैलाई लाभ नहुन पनि सक्छ । यसरी जुन कुराले सबैलाई लाभ हँुदैन अनि सबैको पहँुचमा पुग्दैन त्यस्तो कुरा लागु गर्दा सबैको विरोध आउनुको साथै सफल हुन पनि सकिदैन । अहिले सबै विद्यालयले अनलाइन कक्षा संचालन गरेर समयको सदुपयोग गराउने कुराको सोच एक हिसाबले ठिक भए पनि अर्को हिसाबले बेठिक छ । हाल नेपालमा कति प्रतिशत बिद्यार्थी इन्टरनेटको पहँुचमा छन्, अनि कतिले त्यो सुविधा उपभोग गर्न सक्दैनन् । त्यसको अध्ययन हुन पनि उत्तिकै आवश्यक छ । नेपालमा हेर्ने हो भने १० देखि १५ प्रतिशत विद्यार्थी मात्र इन्टरनेटको पहँुचमा छन् भने कति जना इन्टरनेटको पहँुचमा भएर पनि कम्प्युटर, ल्यापटप, मोबाइल नभएर पनि अनलाइन कक्षामा जोडिन सक्दैनन् । अभिभावकहरुको हैसियतको मुल्याकंन पनि गर्नु पर्दछ । अहिले अधिकाशंंं बिद्यार्थी गाउँमा भएका कारण पनि यो सुविधा लिनबाट बन्चित हुनेछन् । यसमा कक्षा ५ देखिका बिद्यार्थी मात्र सहभागिता जनाउन सक्छन् । हाम्रो देशमा अहिलेसम्म यस्तो अवस्था आएको पनि थिएन । हामीले कुनै किसिमको तयारी पनि गर्न पाइएको थिइएन । अब यस्तो परिस्थिती आउदा सरकारी तर्फबाट पनि पूर्व तयारी रहनु पर्दछ । हामीले कसको लागि, केका लागि, कुन उदेश्यका लागि गरिएको हो त्यो प्राप्त हुन सक्छ कि सक्दैन भनेर राम्रो अध्ययन गरेर शुरु गर्नुपर्छ । अनलाइन कक्षा राम्रो हो । प्रविधि मैत्री हुनु, नयाँ टेक्नोलोजी सिक्नु, विश्व वजारको बारेमा जानकारी लिनु अति नै राम्रो कुरा हो । यदि अनलाइन कक्षा संचालन गर्ने हो भने निम्नानुसार कुरामा तयारी गरी अगाडि बढ्दा राम्रो हुनसक्छ ।
१. इन्टरनेट, कम्प्युटर, मोबाइल आदिको तथ्याड्ढ संकलन गर्ने ।
२. कक्षागत रुपमा पाठ्य सामग्री तयार गरी पावर प्वाइन्ट वा भिडियो तयार गर्ने ।
३. कक्षा संचालन गर्नु पूर्व तयार गरिएका पाठ्य सामग्रीको मापदण्ड मापन गर्ने ।
४. विद्यार्थी अभिभावकको मनोभावना बुझेर कक्षा संचालन गर्ने ।
५. उदेश्य प्राप्ति हुन्छ कि हुन्न पूर्व अनुमान गर्ने गराउने ।
६. अनलाइन कक्षा संचालन पूर्व निति नियमको अभ्यास गर्ने ।
७. शिक्षक शिक्षिकालाई पूर्ण रुपमा तालिम दिने ।
८. कक्षा संचालन गर्नु पूर्व विद्यार्थी अभिभावकको मनोभावना बुझ्ने ।
९. कक्षा संचालन गर्नु पूर्व विद्यार्थीको स्थर मापन गरि सोहि अनुसार कक्षा संचालन गर्ने ।
१०. पढाईको साथ साथै गृहकार्य, परीक्षा र सम्परीक्षणको निति तय गर्ने ।

अनलाइन कक्षा संचालनको लागि हामीले यसरी तयारीका साथ जाँदा ठिकै होला होइन भने यो म्यासेन्जर, भाईवर, जुम आदिमा हचुवाको भरमा कक्षा संचालन गर्नुभन्दा नगर्दा नै बेश हुनेछ । बिना तयारी गरिने कक्षा संचालनले सबै अभिभावक, विद्यार्थी, शिक्षक असन्तुष्ट हुनेछन् । शुरु गर्नु पूर्व हाम्रो देशको अवस्था राम्रोसँग बुझ्नु पर्ने हुन्छ । अहिलेसम्म विजुलीबत्ती समेत नपुगेका गाउँ, एक छाक खानको लागि कठिन अवस्थाका आम मानिसका बारेमा पनि सोच्नुपर्छ । अहिलेको यो अवस्था भनेको केहि नसोची कतै ननिक्लने र घरमा बसी लकडाउनको पूर्ण पालना गरी कोरोना भाइरस (कोभिड–१९) बाट जतिसक्दो चाँडो मुक्ति पाउने हो । हामीले कुनै पनि कुरा गर्न खोज्दा आफ्नो गक्ष पनि बुझ्नु पर्नेहुन्छ । अहिले हामी हाम्रा बालबालिकालाई घरमा व्यवारिक कुराहरु सिकाउनतिर लागौं । उनीहरुलाई परिवारको बारेमा राम्रोसँग बुझाऊँ, नातागोताको बारेमा बुझाऊँ, हाम्रा चाड पर्वको बारेमा बुझाऊँ, नेपाल देशको बारेमा बताऊँ, इतिहासको बारेमा बताऊँ, घरमा खाना बनाउन सिकाऊँ, करेसाबारीमा काम गर्न सिकाऊँ, घरमा मर्मतका सामान्य काम सिकाऊँ ,गीता रामायण पढ्न लगाऊँ र बालबालिकालाई समयको सदुपयोग गराऊँ । यस्तो समय हामीले पहिले कहिल्यै पाएका थिएनौ र अब फेरि पनि पाउने हो या होइन । त्यस कारण हामीले यो समयलाई एउटा अवसरको रुपमा लिएर सदुपयोग गर्नुपर्छ । हाम्रा बालबालिकालाई आफ्नो व्यस्तताका कारण हामीले कहिल्यै समय दिन पाउँदैनथ्यांै । अहिले समय पाएको बेला सहि तरिकाले सदुपयोग गर्नु पर्दछ । आजकाल हाम्रा बालबालिका धेरै आधुनिकता तिर ढल्केका र आफ्नो रितिरिवाज, धर्म संस्कृती सबै बिर्संदै गइरहेको बेला यो समयमा हामीले यी सब कुराको महत्व बुझाउन सकिन्छ । हामीले यसरी यो समयको सहि सदुपयोग गरौं र कोरोना भाइरस (कोभिड–१९) बाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । –नव क्षितिज साप्ताहिकबाट