बनेपा, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हिजो मात्रै १६ जनामा संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको थियो । नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको छ । त्यस्तै साँझ नेपालगञ्जमा थप ६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका ८ का ६ जनामा संक्रमण देखिएको हो । शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । हिजो संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् । आइतबार थप ६० जनाको स्वाब संकलन गरिएको छ ।
हिजोसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको छ । त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा काठमाडौँमा ४ जना र उपत्यका बाहिर ७३ जना रहेका छन् भने क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् ।

विश्वमा ज्यान गुमाउनेको संख्या साढे २ लाख

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार १५१ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीबाट ३५ लाख ३ हजार ३११ मानिस संक्रमित भएका छन् ।
विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख २८ हजार ९सय ५८ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । २१ लाख २७ हजार ७९६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १४ लाख २४ हजार ३६४ जना संक्रमित छन् । एकै दिन २५ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् । १ लाख ३९ हजार ४१० जनाले ज्यान गुमाएका छन् ।
एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ५४४१ पुगेको छ । अहिलेसम्म १९ हजार ३२० ले ज्यान गुमाएका छन् । २ लाख ८४ हजार ६४ जना उपचारपछि फर्किएका छन् । २ लाख ४२ हजार १६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख ५७ हजार ९८७ जना संक्रमित भएका छन् । ७३ हजार ७४५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ८३ हजार ७१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । २ लाख १ हजार १७१ जना उपचारपछि घर फर्किएका छन् ।
दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९९ हजार ७५० जनामा संक्रमण देखिएको छ । १० हजार २४३ जनाले ज्यान गुमाएका छन् । ६९ हजार ३९ जना निको भएका छन् भने १ लाख २० हजार ४६८ जना उपचाररत छन् । अफ्रिकी राष्ट्रमा ४३ हजार ७३४ संक्रमित भएका छन् । १ हजार ७६३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३७० जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पु¥याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३ सय भन्दा बढेको छ ।
भारतमा संक्रमित हुनेको संख्या ४० हजार पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।
एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाले ज्यान गुमाई सकेका छन ।

विश्वभर ७३ नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिएका छन । यस्तै, नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना उपचारपछि निको भएको एनआरएनएले जनाएको छ । –नव क्षितिज साप्ताहिकबाट