कोरोना भाइरस ( कोभिड १९) ले विश्वलाई नै चुनौती दिइरहेको छ । विश्वका शक्तिशाली भन्ने देशहरु पनि आज यो भाइरसका कारण तराईमान भएका छन् । यो प्रकोप घट्नुको सट्टा दिनप्रतिदिन बढदैछ । सुरक्षित देखिएको हाम्रो देशमा पनि विस्तारै संक्रमितको संख्या वढ्दैछ । हालसम्मको तथ्याङ्कले घरभित्र बस्नेहरु सुरक्षित र विदेशबाट आएका वा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा वढी संक्रमणको जोखिम ज्यादा देखाएको हुँदा सरकारको लकडाउनको निर्णय उचित मान्नुपर्ने देखिन्छ । यस परिस्थितिमा हामीले अरु केही गर्न नसके पनि घरभित्रै बसि संक्रमित हुन र हुनबाट बचाउन सक्नु नै हामीले गर्नसक्ने सबैभन्दा ठुलो काम हुनेछ । हालको यो अवस्थाबाट विश्व नै नाजुक परिस्थितिबाट गुज्रिरहेको छ भने विज्ञहरु समाधानको खोजीमा लागिपरेका छन् । मानिस कहिल्यै पनि समस्याबाट भग्दैन र जहिले पनि उपाय निकालेरै छाड्छ । त्यस कारण विश्व यो कोरोना भाइरसको समस्याबाट पनि हामी चाडैं मुक्ती पाउनेछौँ । धैर्यता गरौं पक्कै पनि सफलता मिल्नेछ । हामी अहिले धेरै कुराबाट पीडित छौँ । ब्यवसाय चौपट छ , भविष्य के हुने हो थाहा छैन , को कति बेला संक्रमित हुने हो ? अनि को कति बेला मृत्युको मुखमा पुग्नुपर्ने हो ? त्यो पनि कसैलाई थाहा छैन । यस्तो जटिल परिस्थितिमा पनि हामीले प्राथमिकताका साथ ध्यान पुर्याउनु पर्ने भनेको हाम्रा बालबालिकाहरु हुन । हाम्रो सम्पत्ति भनेको अनि भविष्य भनेकै बालबालिका हुन, त्यस कारण उनीहरुको बारेमा सोच्नु हाम्रो पहिलो दाहित्व हो । हामीले त जिवनमा कहिले राम्रा त कहिले नराम्रा अनेकौं किसिमका समस्या भोग्दै आइरहेका छौँ र बानी पनि परेको छ समस्यासंग झेल्नको लागि तर हाम्रा कलिला नानीबाबुहरु यस्ता किसिमका डर त्रासबाट अलि टाडै भएको राम्रो हुन्छ । उनीहरुको मनमा आजभोलि अनेकौं प्रश्नहरु उब्जने गरेका हुन्छन् । किन कि आजभोलि घरका सबैजना घरमा बसिरहेका छन् । त्यस कारण उनीहरुलाई आजभोलि के भइरहेको छ ? हिजो अस्ति एकछिन पनि कुरा गर्न पनि समय नभएका बुबाआमा आज किन घरबाट बाहिर निस्कनुहुन्न ? सधैं लाग्ने विद्यालयहरु किन बन्द ? सधैं अफिस ,काम, मिटिङ, पाटी र भेटघाटमा दौडधुप गर्ने बाबा किन घरमा ? जस्ता आदि यस्तै यस्तै प्रश्नका उत्तरहरुको खोजिमा छन् । हामीले बिस्तार यी सब कुराहरु बुझाउदै जानुपर्छ । आज फोन, इन्टरनेट र टेलिभिजनहरुले उनीहरुको केही जिज्ञासा पुरा गरेका होलान् भने अब उनिहरुलाई हामीले यथार्थ बुझ्ने वातावरण सृजना गर्नुपर्छ ।
हामी आफै यत्रो दिनको लकडाउनका कारण वाक्क दिक्क भएका छौं भने नानीबाबुहरुको अवस्था कस्तो भएको होला ? अब हामीले गम्भीर भएर सोच्ने बेला आएको छ । हामी आफैं कहिले रमाइलो मानेका छौ, कहिले चकित परेका छौ भने कहिले सोचमा परेका छौ । अब हाम्रा बालबालिकालाई पनि यस्तै भैरहेकोछ । त्यस कारण सकारात्मक तरिकाले जटिलता नदेखाई उनीहरुलाई बुझाउदै जाने हो । उनिहरुलाई नकारात्मक असर नपर्ने गरि यो जटिल अवस्थामा हाम्रा नानीबाबुलाई हामीले अवसरको रुपमा लिएर निम्नानुसार कुराहरुमा विशेष ध्यान दिन लागौं पक्कै पनि सकारात्मक नतिजा मिल्नेछ ।
१. उनीहरुलाई सुत्ने, उठ्ने, खाना खाने, खाजा खाने, पढ्ने , खेल्ने, कम्प्युटरमा बस्ने समयको तालिका बनाई सोही अनुसार दैनिकि बनाई दिने ।
२. उनीहरुलाई लोककथा, दन्ते कथा आदि सुनाउने, विश्व प्रसिद्ध ब्यक्ती, बैज्ञानिक आदिको बारेमा बताउने ।
३. उनीहरुलाई मात्र यसो गर , उसो गर भन्नुभन्दा आफू पनि एउटा तालिका बनाएर कार्य गर्दा त्यहि कुरा सिक्ने हुन्छ।
४. उनीहरुको रुचि र इच्छा अनुरुपको घरायसी काममा संलग्न गराउन प्रोत्साहन गर्ने ।
५. उनीहरुलाई आफ्नो घरपरिवार, नातागोता, आफ्न्तको बारेमा राम्रोसँग जानकारी गराउने ।
६. अत्यधिक रुपमा संक्रमणसँग सम्बन्धित समाचारहरु हेर्ने, पढ्ने वा छलफल गर्न नदिने । यसो गर्दा उनीहरुमा डर त्रासको सृजना हुन गैइ मानसिक असर पर्न जान्छ । त्यसैले उनीहरुको अगाडि सधैं सकारात्मक कुरा मात्र गर्ने ।
७. उनीहरुलाई पढाइमा सहयोग पुग्ने र लेखनको बानी पनि भैरहने हुँदा दैनिकी लेखनमा लगाउने र बेलुका सुत्ने बेला बाचन गर्न लगाउने ।
८. उनीहरुको बानी ब्यबहारमा सुधार ल्याउनको लागि निरन्तर निरिक्षण गर्ने र आवश्यक सुझाव दिइरहने ।
९. आत्मबल बढाउन हामी सुरक्षित छौं भनी निरन्तर सुरक्षाका नीति अवलम्बन गर्न लगाऊँ ।
१०. सम्भावना भएसम्म उनीबुहरुलाई खेल्न, कुद्न , उफ्रनबाट नरोकौ ।
११. हाम्रा बालबालिका रितिरिवाज, धर्म , संस्कृतिबाट टाढा हुन लागेकाले सोको बारेमा प्रोत्साहन गरि ब्यवहारिक कुरा सिकाउने । फुर्सदको समयमा कौसी खेती, भान्सा, कपडा धुने, घरका सामान्य मर्मतसम्भारका काम सिकाउने ।
हामीले आफु र आफ्ना बालबालिकालाई यो जटिल अवस्थाबाट सजिलै सुरक्षितका साथ उम्कन सक्यौं भने त्यो नै सबैभन्दा ठुलो विजयी हुनेछ । अहिलेको अवस्थामा अन्य धेरै कुराहरु सोच्नु र गर्नुभन्दा पनि आफू र आफ्नो परिवार सुरक्षित रहदै अरुलाई पनि सुरक्षित राख्न सक्नु नै ठूलो उपलब्धि हो । अहिले विश्व नै असुरक्षित भएको बेला आजका दिनसम्म हाम्रो देश सुरक्षित रहनुले हामी धेरै भाग्यमानी हौं । यो कुरालाई कायम राखी एकजना पनि मृत्यु नभई कोरोना भाइरस ( कोभिड १९ ) निर्मुल भएमा हामी संसारमै भाग्यमानी र हाम्रो देश विश्वकै स्वर्ग अनि सुरक्षित भनी थप एक परिचय थपिने थियो । आशा गरौ हामी मिलेर लक डाउनको नियम पालना गरौं पक्कै त्यो अवसर प्राप्त हुनेछ । –प्रल्हाद दाहाल, (निवर्तमान केन्द्रिय सचीव नेशनल प्याब्सन)








