सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशन (बजेट अधिवेशन) बोलाउन सरकारलाई आग्रह गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर सभामुख सापकोटाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
बजेट अगाडि आउनुपर्ने नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा समेत सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । अघिल्लो वर्षको बजेट अधिवेशन वैशाख ८ गते आह्वान भएर १६ गतेदेखि सुरु भएको थियो । यसवर्ष कोरोना भाइरसका कारण वैशाख २५ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको छ । जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेटभन्दा अगाडि राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ ।







