भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ ।
धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराज जीले पनि नेपाली र भारतिय तीर्थयात्रीहरूका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरिएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा आफ्नो परिवारसहित महाकुम्भमा सहभागी भएका छन् । उनका पिता संस्कृतका प्रकाण्ड विद्वान पण्डित गंगेश झा, माता बच्ची देवी झा, पत्नी सोनी झा, छोरा बाल अभियानी आदित्य झा तथा अन्य परिवारका सदस्यहरू पनि उपस्थित छन् । युथ क्लबका पुर्वअध्यक्ष श्रीओमले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीलाई कुनै कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए । इन्जिनियर सुजीत झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए ।
डा. राजीव झाले नेपाललाई पर्यटन हब बनाउने उद्देश्यले नेपाल–भारत सीमा पूर्ण रूपमा खुला राख्नु पर्ने र विवाह पञ्चमी, रामनवमी, परिक्रमा तथा महाशिवरात्रिजस्ता धार्मिक पर्वहरूको व्यापक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए । सरकारको नीति पर्यटकमैत्री र “अतिथि देवो भवः“ को भावना अनुरूप हुनुपर्ने उनको सुझाव थियो । नेपालको दुबै छिमेकी देशको ठूलो जनसंख्यामध्ये प्रत्येक वर्ष एक प्रतिशतलाई पनि नेपाल ल्याउन सकियो भने नेपाललाइ विश्वको धनी देशको लाइनमा उभ्याउन बेर लाग्दैन । धार्मिक र सांस्कृतिक पर्वहरूको सही व्यवस्थापनबाट नेपालमा पर्यटन प्रवद्र्धन गर्न सकिने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने उनको भनाइ थियो ।