बनेपा, बजारमुखी एवं निर्यातयोग्य कृषिको उत्पादन समृद्ध तथा समुन्नत काभ्रेको अभियान भन्ने मूल नाराका साथ आगामी फाल्गुन ४ गतेदेखि ७ गतेसम्म बनेपामा वृहत कृषि महोत्सव–२०८० हुने भएको छ । जसको तयारी तिब्र गतिमा भईरहेको छ ।
जिल्लाको व्यापारिक नगरी बनेपाको लायकु तथा नालादोबाटोदेखि विद्युत्त प्राधिकरणसम्मको सडकमा हुने कृषि महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने भएको छ । महोत्सवमा कृषिका नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्वन्धि सेमिनार, सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि बिमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि स्टलहरु, रैथाने परिकार, हस्तकला एवं होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु रहने छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको संयोजनमा हुने महोत्सवमा बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेको प्राविधिक समन्वय तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागिता रहने छ ।
करिब १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको वृहत कृषि महोत्सवले जिल्लाको कृषि तथा पशुपालन क्षेत्रमा नयाँ आयाम थप्ने महोत्सव आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले बताए । कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी मार्फत कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, अवलोकनकर्ता÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराइने पनि गौतमले जानकारी गराएका छन । महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप–समितिहरु गठन गरिए बमोजिम तयारीमा जुटिरहेका छन ।