समय र परिस्थिती अनुरुप सहकारी क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जिल्ला सहकारी संघ लि. काभ्रेले यहि माघ २५ र २६ गते सहकारी अर्थ व्यवस्था गोष्ठी आयोजना गर्न लागेको छ । वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्या, चूनौतीहरुका लागि भन्दै नेपालमै सहकारी क्षेत्रमा विज्ञको रुपमा क्रियाशिल विद्यत व्यक्तिहरुको सहजिकरणमा गोष्ठीको आयोजना गर्न लागेको जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष दिलिप शर्माले बताए । वर्तमान परिस्थितिमा सहकारीमा हामी सँगै छौं भन्ने एकताको सन्देश दिदै जिल्लामा तथा सहकारी क्षेत्रमा देखा परेका केहि समस्याहरुका समाधानका लागि प्रतिबद्धता सहित कसरी सहकारीहरुको सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

फरक खालका विभिन्न विषयहरु सहकारीको योगदान, समस्या, चूनौती र अवसरहरु, सहकारीमा अबको रणनैतिक बाटो, वित्तीय व्यवस्थापन, सहकारी क्षेत्रका नीतिगत र कानूनी व्यवस्था र अब गर्नुपर्ने सुधार, सहकारीमा नेतृत्व विकास र सहकारीमा असल अभ्यास ः अनुभवजन्य सिकाइ सहितका बिषयहरुका बारेमा कार्यपत्र प्रस्तुती हुनेछन् ।

कार्यपत्र प्रस्तुतीका लागि सहकारी क्षेत्र लगायत नीति निर्माणका तहमा विभिन्न स्थान रहेर अनुभव हासिल गर्नुभएका पूर्व अर्थ मन्त्रि डा. यूवराज खतिवडा, सहकारी ऐन निर्माण देखि नै सहकारी क्षेत्रमा कार्य गर्दै आउनु भएका गोपीनाथ मैनाली, सहकारी रजिष्ट्रार पिताम्बर घिमिरे, सकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाँई, नेतृत्व विकासमा रुपेश श्रेष्ठ, तथा सहकारी क्षेत्रमा असल सहकारी सञ्चालन गर्नुभएका रण बहादुर थापा तथा लक्ष्मि उप्रेती सहितले प्रस्तृतीकरण गर्नुहुनेछ । नेपालमै सहकारी क्षेत्रका मुर्धन्य ब्यक्तिहरुको उपस्थिीमा हुने यस कार्यक्रमले जिल्लाको मात्र नभै सहकारी क्षेत्रको विकासमा महत्वका साथ हेरिएको छ । वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्या तथा चूनौतीहरुका लागि भन्दै बिषयवस्तुहरु समेत समेटिएकाले पनि यो गोष्ठी अत्यन्त महत्वपूर्ण रहेको छ भन्नुहुन्छ संघका अध्यक्ष दिलिप शर्मा ।

 

जिल्लाबाट धेरै भन्दा धेरै सहभागिता जुटाउने र बागमती प्रदेश भित्र रहेका जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, अन्य बिषयगत संघ र अन्य जिल्लामा रहेका प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुका लागि समेत सहभागिताका लागि अह्वान समेत गरिएको संघले जानकारी गराएको छ । २५ गते विहान ८ बजेदेखि सुरु हुने कार्यक्रम आवासीय सहित २६ गते बेलुका ५ बजे समापन हुनेछ । कार्यक्रमलाई व्यवस्थापकीय रुपमा कोअपरेटिभ मेनेजर्स क्लव, काभ्रेले गर्नेछ ।

साथै सबै सहकारी अभियानमा जोडिनुभएका अभियानकर्मीहरुले कार्यक्रममा सहभागिता जनाई दिनका लागि संघले आह्वान समेत गरेको छ ।