दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ । विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ । यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ । समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवतीका बारेमा केही किंवदन्ती पाईन्छ ।
परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा कालिञ्चोकबाट नै ल्याउनु पर्दथ्यो । यहाँ आइपुग्दा सात वटा भेडा हराएका थिए । त्यसपछि गोठालाहरुले कामेर बक्दै अबीर, केशरी र भेटी चढाएपछि भेडा हराउन छोडेको जनविश्वास रहेको छ । त्यसपछि कालिञ्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय बताउछन । त्यस्तै स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक हो यससँग सम्बन्धित जानकारहरू बताउँछन् । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो ।
यहाँ भक्तजनहरू छोराछोरी, धनसम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासी बताउँछन् । यहाँ बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यही रहेकी देवीलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् ।
अहिले चरिकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सयौँ होटल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ । कालिञ्चोकमा केबलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । केबुलकार नचढ्दा पनि कुरीबजारदेखि उकालो करिब एक घण्टा पैदल यात्रा गरी कालिन्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ । कालिन्चोक भगवती दोलखा जिल्लाको रमणीय एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानका रूपमा परिचित छ । यहाँ उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् ।
चरीकोटबाट करिब एक घण्टाको हिँडाइपछि देउराली भन्ज्याङ पुगिन्छ । त्यहाँबाट जङ्गलको बाटो हिँड्नु पर्छ । यातायात नचल्दा करिब पाँच घण्टाको उकालो चढेपछि कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरै वटा होटलहरु खुलिसकेका छन् । कुरीमा बास बसेपछि बिहान कालिन्चोक डाँडा उक्लिन सकिन्छ ।
ढुङ्गा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि करिब तीन घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ । हिँडेरै जादा प्राकृतिक छट्टाको स्वादन झनै गर्न पाईन्छ । काठमाडौँदेखि करिब १२५ किलोमिटर पूर्वमा दोलखाको सदरमुकाम चरिकोट र करिब १७ किलोमिटर उत्तरमा पर्ने यो कालिञ्चोक भगवतीको मन्दिर पुग्न विगतमा निकै कठिन भए पनि अहिले भने त्यति कठिन देखिँदैन सहजै पुग्न सकिन्छ ।









सम्बन्धित समाचार