दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको तेश्रो वार्षिक साधारणसभा काठमाडौं, थापागाउँ स्थित काठमाडौं ब्यांक्वेटमा संस्थाका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका संचालक डि।बि। बस्नेतको प्रमूख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा कृषि पत्रकार सञ्जालका अध्यक्ष किरण आचार्य, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्ण कार्की, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, सहकारी अभियान्ता मुकुन्द दाहाल, नापी विभागका अधिकृत डिल्ली दाहाल लगायत संस्थाका पदाधिकारी, सेयर सदस्य, उद्योगीहरु एवं किसानका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालक समितीका सदस्य शिव घिमिरेको स्वागत मनतव्य तथा प्रमूख अतिथि डि।बि बस्नेतले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन माथि बृहत छलफल गरि सुझाव सहित पास गरियो । कार्यक्रममा असल बचत कर्ता, असल ऋणि, असल वाल बचत कर्ता गरि तीनजनालाई प्रमाणपत्र तथा नगदले सम्मान गरिएको थियो । उपस्थित अतिथि सबैलाई दुग्ध पदार्थ समाबेश गरि बनाइएको मायाको चिनो प्रदान गरिएको थियो ।

आफ्नो भनाइ राख्ने क्रममा अनाजका अध्यक्ष किरण आचार्यले सहकारीले लिएको उदेश्य राम्रो भएकोले सफल हुने कुरामा दुईमत नभएको कुरा बताए । सहकारी अभियान्ता मुकुन्द दाहालले सुरुबाट नै आफू यो सहकारीमा आबद्ध भएकोले यसले लिएको उद्देश्य प्राप्तिका लागि सबै शेयर सदस्य एकजुट भएर लाग्नु पर्ने बताए । पशुसेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्ण कार्कीले सबै डेरीमा आबद्ध सफल, आर्थिक अनुशासन भएका ब्यक्तिहरु सहकारीमा लाग्नु भएकोले पनि यो सहकारी सफल हुने निश्चित रहेको बताए । प्रमुख अतिथि बस्नेतले यसरी सबै डेरी व्यवसायीहरुलाई सदस्य बनाई एकीकृत गरि ठूलो डेरी उद्योग लगाउने कुराले आफू अत्यन्तै खुशी भएको र सकेको सहयोग गर्ने कुरा बताउँदै सहकारीले अहिलेसम्म गरेका कार्य सन्तोष जनक नै भएको कुरा बताए । अन्त्यमा सहकारीका उपाध्यक्ष टिका प्रसाद घिमिरेले उपस्थिति सबैलाई धन्यवाद दिंदै सहकारीमा आबद्ध नभएकालाई पनि आबद्ध हुन अनुरोध गरे । सहकारीका अध्यक्ष प्रल्हाद दाहालले हामी सबै लाग्दा मात्र सहकारीलाई उचाईमा पुर्‍याउन सकिने छ । यदि हामी सबै राम्रोसँग लाग्दा अहिले भएको सहकारीका सदस्य दोब्बर बनाउन सकिन्छ । छरिएर रहेका सानो सानो पुँजी एकीकृत गरि काम गर्न सक्दा सबैको उदेश्य पुरा हुने निश्चित भएकोले सबैलाई सहकारीमा आबद्ध भई कारोबार गर्न आग्रह गरे ।