अनिता कुवँर मूलतः संगीत सर्जक हुन । कर्म सिद्धि यात्राको क्रममा आफूलाई गायिकाकै रुपमा मौलाउँदै लगेपनि उनी संगीतकी त्रिवेणी हुन् । गायन, शब्द र संगीतलाई उनले आत्मसात् गरिसकेकी छिन् । यसैले त अनिताले संगीत प्रवेशको बाटो ‘पराई’ बनाइन् । तर कर्मले संगीतलाई पराई हुन दिएन बरु आफन्त भए गीत संगीत ।
बाबु यम बहादुर कुवँर र आमा सानुमाया कुवँरको कोखबाट गोर्खाको मनकामनामा जन्मीएकी अनिताले स्नातक सम्मको अध्ययन गरेकी छिन् । मान्छेको परिचय स्थापित हुन, मान्छेको प्रतिभा स्फूटन हुन वातावरणको पनि ठूलो भूमिका हुन्छ । उनका लागि स्कूल नै स्कूलिङ भयो सांगीतिक वातावरण सिर्जना गर्न । उनको हौसला, प्रेरणा साथीहरु भए र शिक्षक पनि । कुनै पनि कर्मको शुरुवातले जब उत्साह पाउँछ, जब हौसला पाउँछ, जब प्रेरणा पाउँछ तब न कर्मले सफलताको बाटो मोड्छ । अध्ययन कालमा भएका सांगीतिक प्रतियोगितामा जब उनलाई गायनबाटै प्रथम स्थान मिल्यो त्यसले प्रशस्त उर्जा मिल्यो । आफूलाई जाँच्ने कसी प्रथम स्थान थियो । त्यतिबेला उनले बुझिन् की बुझिनन् तर उनको स्वरले परिक्षा उत्तीर्ण गरिसकेको थियो ।
आफन्तहरुको हौसला एवं प्ररेणा मिलिरहेको बेला उनले ‘पराई’ रोजिन् । ‘पराइर्’ उनको गीति एल्वम थियो । २०७४ सालमै उनले हिम्मत जुटाइन् । आफ्नै शब्द, संगीत र स्वरको त्रिवेणीलाई मिसाएर पराई नामक एल्बम लिएर आईन् । तर पराईले नामको विपरीत धेरै आफन्त दियो । पराईबाट संगीतमा उनको चिनारी त भयो नै सँगसँगै उनका अनुयायी भए । यसो त संगीतमा परिपक्वता आउन बाँकी नै छ । अध्ययन र सिकाई त मान्छेको जीवनमा कहिले पुरा हुन्छ र ! तै पनि ताते ताते गर्दै उनी संगीतमा आएकी थिइन् । अहिले ठमठमी हिडिरहेकी छिन् । यो हिँडाईलाई दौडाई बनाउन भने बाँकी नै छ । सफलता कहिले सानो र ठूलो हुँदैन । सफलता भनेको सफलता नै हुन्छ । क्रमश अनितालाई आज की भोलिमा, हजारौं चोट, पलपल हरपल, वासना, ढाकाटोपी, यो माया, दिदिबहिनी माइतिघरमा, आखैंमा घाम पर्यो, घार्रघुर्र जस्ता गीतहरुले उनलाई परिचय थपिरहेका छन् । स्वरलाई तिखारी रहेका छन् । संगीत, शब्द र स्वरको त्रिवेणीमा प्रवेश गरेपनि अनिता यतिखेर गन्तव्यको एकै पथमा हिडिरहेकी छिन् । ०७४ देखि अहिले सम्म उनले एक दर्जन राम्रा गीतमा स्वरले सजाएकी छिन् ।
रुची त अनिताको गीत संगीतमा मात्र होइन सिनेमामा पनि थियो । यसैले त यतिखेर निर्माण भएको चलचित्र चिठ्ठी मार्फत् सिनेमा निर्माणमा पनि हात हालेकी छिन् । उनी यो चलचित्रमा सह निर्माताको रुपमा छिन् । सिनेमाको मोहलाई पुरा गर्दै चिठ्ठी मार्फत निर्माणमा आएको र कथावस्तु, निर्माण टिम राम्रो भएमा भोली फेरी पनि निर्माणमा लाग्ने सोच उनमा रहेको छ । अझै मोडलिङमा पनि अनिताको रुची छ । यसैले आफ्ना गीतमा मोडलिङ समेत गरेकी छिन् ।
आठौं म्यूजिक खबर म्यूजिक अवार्डमा नोमिनेशन सम्म सीमित रहेकी अनिता नेशनल इन्टरटेन्टमेन्ट अवार्ड ०७७ मा सर्वाेत्कृष्ट गायिका भएकी छन् । नोमिनेशनकै हिसाबमा त उनी पिम नेपाल म्यूजिक अवार्ड ०७७ मा पनि थिइन् । पिम नेपाल व्यक्ति कला सम्मान २०८० बाट सम्मान समेत उनले पाएकी छिन् । अवार्ड सम्मान उनको मानक हुन्, आफ्नो कर्मको मुल्याङकन हुन् यसैले उनी खुशी छन् । पहिले एल्वम नै आधुनिक गीतबाट शुरु गरेकी अनिता आफूलाई फेरी सक्रिय पुर्वक प्रोजेक्टहरु गरिरहेकी छिन् । यत्ति हो गीत संगीतको लागि उनको कर्म निरन्तर छ ।