पनौती, विश्व शान्तिको कामनासहित काभ्रे सेवा समाज र जिल्ला समन्वय समिति काभ्रेको अयोजनामा पनौती हुदै नमोबुद्धसम्म शनिबार शान्ति पदयात्रा गरिएको छ ।
काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शंखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो । पदयात्राको शुरुवात गर्दै प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनौती र नमोबुद्धको महत्व धेरै रहेकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा स्वागतयोग्य रहेको बताउनुभयो । शान्ति पयदात्राले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै ठूलो महत्व रहने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पूर्वमन्त्री एवं संघिय सांसद गोकुलप्रसाद बाँस्कोटाले शान्ति पदयात्राले विश्वमा शान्ति फैलाउन सहयोग पु¥याउने बताए । कार्यक्रममा संघिय सांसद सूर्यमान दोङ, बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामालगायतले पदयात्राले काभ्रेपलाञ्चोक जिल्ला र सिङ्गो मुलुकलाई नै यहाँको सद्भाव, शान्ति र समुन्नत समाज निर्माण गर्न सबैको साझा अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे ।
विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउने र भावना जागृत गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरुको प्रवर्द्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वर्द्धन गर्ने उद्देश्यसहित शान्ति पदयात्राको आयोजना गरिएको काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले बताए । अभियानमा १ हजार भन्दा धेरै पनौती देखि ९ किलोमिटर नमोबुद्ध सम्म पैदल हिडेर पुगेका थिए । पदयात्रामा हिड्ने यात्रुहरुलाई बिच बिचमा नास्ता र पानीको ब्यवस्थापन गरिएको थियो ।

एकैपटक हजार पर्यटक नमोबुद्धमा
विश्व सम्पदा सूचीमा सूचिकरण हुने प्रकृयामा रहेको ऐतिहासिक, धार्मिक स्थल नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक पुगेका छन् । विश्व शान्ती दिवसरको अवसर पारेर काभ्रे सेवा समाज, जिल्ला समन्वय समितिको आयोजना, नमोबुद्ध नगरपालिका लगायतका संस्थाको सह–आयोजनामा भएको सांस्कृतिक पदयात्राको क्रममा एक साथ एक हजार पर्यटक नमोबुद्ध पुगेका हुन् ।
पनौतीबाट शुरु पदयात्रा सुन्थान, इटे, दाहालटार, फेदी हुदैँ नमोबुद्धमा गएर टुंगिएको थियो । पदयात्रीहरुलाई नमोबुद्ध र धुखिलेल नगरपालिकाको सिमाना फेदी र नमोबुद्ध चैत्य परिसरमा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, सबै वडाका वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी र स्थानीयले स्वागत गरेका थिए । पञ्चेबाजा, धिमेबाजा, लाखे नाँचसहित पर्यटकहरुलाई स्वागत गरिएको थियो ।
नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध आइपुग्ने सबै पर्यटकलाई आभार प्रकट गर्दै संघ, प्रदेश र अन्य निकायको सहयोगमा नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गरिने बताए । ठाङ्गु टासि याङ्चे गुम्बाका उपाध्यक्ष आचार्य लामा कर्मा फुर्वु शेर्पा, नमोबुद्ध भगवान घ्या¨ गुठीका लामा गुरु सानुकान्छा लामा लगायतले नमोबुद्ध परिसरको ऐतिहासिकता र महत्वबारे चर्चा गरेका थिए ।
विश्व सम्पदा सूचीमा सुचिकरणको प्रकृया नगरपालिकाले अघि बढाइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत निर्माण गरिएको छ ।