अहिले झट्ट हेर्दा सहकारीहरुको समस्या सदस्यले भन्दा पनि जबर्जस्त बनाईएका ग्राहकका कारण केहीमा समस्या आएको सत्य हो । यो समस्या दिन प्रतिदिन घट्नुको सट्टा बढ्दो अवस्थामा छ । किनकी अबको असार महिना भनेको वित्तिय संस्थाहरुको लागि वर्ष भरिको कामको परिणाम देखाउँने समय हो ।
यस समयमा लगानी गरिएको ऋणमा ऋणीहरुले अनिवार्य रुपमा किस्ता सहित व्याज हाल्नै पर्ने समय हो । यो वर्ष आर्थिक कारोबार गर्न नसक्दा धेरै ऋणीको अवस्थामा सुधार आउँन सकेको छैन । बैंक तथा ठूला संस्थाहरुले ऋण उठाउँन सक्लान तर साना प्रकारका वित्तिय संस्थाहरुको लगानीको किस्ता त परको कुरा व्याज पनि सबै उठ्न सक्ने अवस्था छैन । अहिले धेरै मान्छेहरु अफ्ठेरोमा परेकोलाई थप अफ्ठेरोमा पार्न पाउँदा खुशी मान्ने गर्दछन् । जहाँ गार्हो त्यहीं अफ्ठेरो भन्ने पुरानो प्रचलित उखान चरितार्थ हुदैं छ । दुःख पायो, समस्यामा छ, अफ्ठेरोमा छ भन्ने सुन्ने वित्तिकै झन पिडा थप्न कुदाकुद गर्छन् हअहिलेका मान्छे । त्यसैले हरेक काममा विवेकपूर्ण ढंगबाट संयमका साथ गर्नु जरुरी छ ।
संस्थाका असली सदस्यले संस्थाको मूल मर्म र भावना अनुसार बुझेर काम रव्यवहार गर्ने गर्दछन् । रेखदेख र आवश्यक परे खबरदारी पनि गर्ने गर्दछन् । संस्थालाई राम्रो पार्न केके गर्न सकिन्छ सबै प्रकारको सहयोग गर्न तयार हुन्छन् । संस्थाको असली सदस्यले संस्थालाई अफ्ठेरो परेको बेलामा सघाउँछ । संस्थाका सदस्यलाई यो संस्था मेरो हो, यसकारण यसलाई सम्बृद्ध पार्ने दायित्व र कर्तब्य पनि मेरै हो भन्ने कुराको बोध हुन्छ । संस्थाको असल सदस्यले कहिल्यै पनि संस्थालाई अफ्ठेरो पार्ने काम कहिल्यै पनि गर्दैनन् । संस्था प्रति उसको अपनत्व हुन्छ । आफुलाई अफ्ठेरो पर्दा सेवा लिन्छ र संस्थालाई अफ्ठेरो पर्दा सहयोग गर्न पनि तयार हुन्छ । यस्ता प्रकारका व्यक्ति संस्थाका सदस्य भए भने संस्थालाई कहिल्यै पनि र कुनै पनि प्रकारको अफ्ठेरो पर्दैन । तर सहकारी संघ संस्थाहरुले त्यस प्रकारका सदस्य पाउँन मुस्किल छ । सेवा मात्र प्राप्त गर्नका लागि सदस्य बन्नेहरु संस्थाका सदस्य होईनन् । तिनिहरु त ग्राहक हुन् । संस्थाको ग्राहक बनेको ब्यक्तिले निरन्तर सेवा पाए मात्र खुशी हुन्छ । उसले भनेको जस्तो भएन भने संस्थाको आलोचना गर्छ । संस्थाको विरुद्धमा लाग्छ । आफ्नो स्वार्थ पुरा नहुन्जेल सम्म निरन्तर विरुद्धमा लाग्छ । केही मान्छेलाई हामीले सदस्य भन्दा पनि ग्राहक बनायौं । सहकारीको सदस्यताको बरेमा शिक्षा नै दिएनौ । आफ्ना सदस्यलाई सहकारी शिक्षा दिनै सकेनौं । बुझाएर सदस्यता दिनुको सट्टा उस्को पैसालाई मात्र प्राथमिकता दियौं । अहिले त्यसैको परिणाम धेरै सहकारी र वित्तिय संस्थाहरुले भोगी रहेका छन् ।
संघ संस्था दर्ता गर्दा स्विकृत गरेको संस्थाको नियम, विनियम तथा नीति र नेपालकै मूल कानूनको आधारमा सदस्यता वितरण गर्ने गरिन्छ । सहकारी भनेको समान तथा समुदायमा एकापसमा आवश्यक पर्न सक्ने हरेक काममा सहकार्य गर्नु वा त्यसका लागि तयारी गरी सहकार्य गर्नु नै सहकारीको खास परिभाषा हो । सहकारीको अवधारणा आउँदा यस्को मूख्य नारा यही थियो । सहकारीको अवधारणा शुरु हुंदा एउटा मजदुरलाई आपद पर्दा कसैले पनि सहयोग गर्दैनन् आफैंले त्यसको तयारी गर्नु पर्छ भन्ने चेतनाले पे्ररित थियो । आफुसंग नगद भएको बेलामा त्यसलाई जोगाई (बचत) गरी राख्नु पर्छ, पछि काम लाग्छ भन्ने चिन्तनबाट सहकारी (सहकार्य) को विकास भएको हो । तर नेपालको सन्दर्भमा त्यस बेलाको उद्देश्य अनुसार हुन सकेन । किनकी अहिले सहकारी विस्तारै हुने खाने तथा सम्भ्रान्त परिवारको कब्जामा पुग्दै छ । एकाध बाहेक बाँकि सहकारीहरुले सहकारीको मूल मुद्वा तथा नारालाई विर्सीएर मन लाग्दी ढंगले चलाईएका पनि भेटीएका छन् । सहकारी विनियम, नियम, नीति तथा प्रचलित कानून अनुसार चलेको छ वा छैन हेर्ने निकायले नहेरे पछि अहिलेको समस्या निम्तिएको हो । अनुगमन गर्ने निकायले बेलैमा अनुगमन गरेर राम्रो गर्नेलाई पुरस्कृत गर्ने र गलत गर्नेलाई जरिवानाको व्यवस्था गरेको भए सायद धेरै सहकारीमा यो भयावहको अवस्था हुने थिएन । राम्रो गर्नेलाई थोरै रकमले मात्र भए पनि पुरस्कृत गर्दा अरुलाई पनि राम्रो गर्न प्रेरणा जाग्दथ्यो । गलत गर्नेलाई दण्ड गर्ने बानीको विकास गरेको भए सबैले सचेतता पूर्वक काम गर्दथे र हरेक सहकारीमा सुसाशन कायम गर्न सजिलो हुने थियो ।
हरेक सहकारीले उसले गरेको कमाई, सदस्यहरुले गरेको कमाई र अन्य शिर्षकमा राज्यलाई कर तिरीरहेको हुन्छन् । त्यसैले त राज्यले पनि तिन खम्बे अर्थ नीति मध्ये सहकारीलाई पनि एक खम्बाको रुपमा स्वीकार गरेको छ । सहकारीको माध्यमबाट पनि देशको सर्वागिंण विकासमा टेवा पु¥याई रहेको छ । राज्यलाई सामाजिक, साँस्कृतिक, आर्थिक एवं अन्य कारणले पनि सहकारीले ठुलै सहयोग गरिरहेको छ । सदस्यहरुको सम्पत्तीको सुरक्षा, सम्पत्ती नहुनेलाई ऋण लगानी मार्फत व्यवसायमा बृद्धि, सहकारीमा करोडौं संलग्नता, लाखौंलाई प्रत्यक्ष रोजगारी लगाएतमा सहकारीको राज्यका लागि ठूलो योगदान छ । सहकारी भएकै कारण धेरै नागरिकले सेवा, उत्पादन, बजारीकरण र अन्य कारणले पनि नागरिक तथा देशलाई आर्थिक रुपमा सम्पन्न बनाउँन सहकारीको ठूलो योगदान छ । सहकारीले देशका लागि यति धेरै योगदान गर्दा पनि राज्यले सहकारीलाई सग्लो आँखाले देख्न सकेन । धेरै सहकारीहरुले आफुलाई अफ्ठेरोमा पर्दा पनि जनतालाई सेवा दिई रहेका छन् । जनताको संकटको सारथी सहकारीलाई यो संकटमा अलिकति पनि संबोधन गर्न चुक्नु भनेको जनताको सम्पत्ती डुबे पनि सरकारलाई मतलव छैन । सहकारी सरकारकै गैर जिम्मेवारीपनmर गलत सदस्य (ग्राहक) का कारणको शिकार बन्न बाध्य भएको छ । -नव क्षितिज साप्ताहिकबाट








