बनेपा, जनआन्दोलनको क्रममा २०६२ साल चैत्र २७ गते बनेपाको तीन दोबाटोमा कन्चटमा गोली लागेर १७ बर्ष १ महिना अर्ध चेत अवस्थामा जीवन बिताएका जिउँदो शहीद मुकेश कायस्थको बुधबार निधन भएको छ । कायस्थको बिहीबार दिउँसो बनेपास्थित उग्रतिर्थेश्वर घाटमा अन्तिम दाह संस्कार गरिएको थियोे । दाहसंस्कार अघि बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म कायस्थको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बनेपा नगरपालिकाको प्राङ्गणमा राखिएको थियो त्यसपछि शवलाई बनेपा बजार परिक्रमा गराई उग्रतिर्थमा अन्तिम दाहसंस्कार गरिएको हो ।
कायस्थको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्न नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य सूर्यमान दोङ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गृह सचिव दिनेश भट्टराईलगायतले श्रद्धाञ्जली दिनुभएको थियो ।
नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाई कायस्थको शवलाई बजार परिक्रमा गराइएको थियो । मुकेश कायस्थ प्रतिष्ठानका संयोजक मोहन दुवालले विभिन्न आन्दोलनका घाइते तथा अपाङ भएका व्यक्तिको सम्मानका लागि प्रदेश सरकारले एउटा कोष स्थापना गरेर सम्मानको कार्यक्रम आयोजना गर्नुपर्ने र बनेपा नगरपालिकाको कार्यालय परिसरभित्र मुकेश कायस्थको शालिक निर्माण तथा नगरभित्र निर्माणाधीन स्वास्थ्य संस्थामा मुकेश कायस्थको नाम कायम गर्न माग गर्नुभएको थियो ।
मुकेशको मृत्युमा बनेपा नगरपालिकाले बिहीबार सबै सेवा बन्द गरेको छ । यसैगरी नगरपालिकाले कायस्थको श्रद्धाञ्जली सभा र अन्त्येष्टि कर्म सम्पन्न गर्न लाग्ने सबै खर्चे व्यहोर्ने जनाएको छ । दोस्रो जनआन्दोलन २०६२÷०६३ का क्रममा २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा प्रहरीको गोली लागेर कायस्थ घाइते हुनुभएको थियो । वि.सं. २०४८ साल भदौ ९ गते जन्मिनु भएका मुकेशलाई स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । –नव क्षितिज साप्ताहिकबाट