बनेपा, यतिबेला प्राय अस्पतालहरुमा एडिनो भाइरसबाट संक्रमित भएका बालबालिकाको संख्या बढ्दै गएको छ । ज्वरो, रुघाखोकी, पातलो दिसा आउने, आँखा रातो हुने, पेट दुख्ने लगायत समस्या बालबालिकाहरुमा देखा परेको छ ।

चिकित्सकका अनुसार भाइरसको संक्रमण विभिन्न लक्षण देखिए पनि स्वास्थ्यमा खासै गम्भीर जटिला ल्याउँदैन । यो भाइरस हरेक वर्ष देखिन्छ । एडिनो भाइरस भनेको अरु भाइरस जस्तै हो । अरु रुघाखोकी ज्वरो ल्याउने भाइरस जस्तो यो पनि एउटा भाइरस हो जुन एडिनो भाइरसको संक्रमणले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी जटिलता ल्याउने गर्छ । यो भाइरसको संक्रमण बर्सेनि हुने गरेकोले आत्तिन भने पर्दैन ।

एडिनो भाइरस कुनै नयाँ प्रजातिको भाइरस होइन । यो अन्य भाइरस जस्तै साधारण भाइरस हो । यस भाइरसले अन्य भाइरल रुघाखोकी जस्तै ज्वरो आउने, रुघाखोकी गराउने, आँखा रातो हुने, पेट दुखाउने, दिसा पातलो गर्ने र पिसाबमा इन्फेक्सन गराउने हुन्छ । यो भाइरसको संक्रमण भइसकेपछि धेरैजसो बालबालिकामा आँखा पाक्ने, आँखा रातो हुने, खानाखान मन नलाग्ने, शरीरका विभिन्न भागहरु दुख्ने, पेट दुख्ने, झाडापखला लाग्ने र कुनै बालबालिकामा पिसाबको इन्फेक्सन समेत हुने गर्दछ ।

एडिनो भाइरस संक्रमण हुँदा १०२÷१०३ डिग्रीसम्म ज्वरो आउँछ । अन्य समयमा धेरैजसो भाइरल ज्वरो तीनदेखि चार दिनसम्म रहन्थ्यो भने एडिनो भाइरसमा कम्तीमा पनि पाँच दिनदेखि दुई हप्तासम्म पनि रहिरन्छ । यो रुघाखोकी गराउने राइनो, इन्फ्लुयन्जा वा एडिनो जस्ता भाइरसहरु प्रमुखतः दुईवटा तरिकाबाट सर्ने गर्छन् । पहिलो थुकको छिट्टाहरुबाट सर्छ । दोश्रो संक्रमित व्यक्तिबाट श्वासप्रश्वासको माध्यम वा खानपानबाट पनि यो संक्रमण सर्छ ।

यो भाइरसले बालबालिकालाई मात्रै असर गर्दैन । यसले सबै उमेर समूहका मानिसलाई असर गर्छ । एडिनो भाइरसको संक्रमण हुँदैमा सबै बालबालिकामा लक्षण वा चिह्न देखिँदैन । जुन बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, यस्ता बालबालिकामा लक्षण बढी देखिन्छ । त्यसकारणले जति कम उमेर समूहका बालबालिका छन्, त्यति नै चिन्ह्र लक्षण धेरै देखिन्छ । श्वासप्रश्वासको माध्यमबाट एडिनो भाइरसको संक्रमण फैलिने हुँदा धेरैजसो बालबालिका विद्यालयमा जाँदा संक्रमित हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म बालबालिकालाई एकै ठाउँमा झुम्मिनदिन हुँदैन । यो भाइरस बढी संक्रामक छैन । धेरै संक्रमण फैलाउनसक्ने वा मृत्यु गराउने खालको कडा भाइरस होइन ।

घरमा दुईचार जना बालबालिका छन् भने साधारण रुघाखोकी लाग्ने, ज्वरो आउने भइरहन्छ । यसैगरी नै हाम्रा बालबालिका हुर्किने गरेका छन् । तर अभिभावकले एडिनो नयाँ भाइरस हो भनेर आत्तिनु पर्दैन । तर अन्य भाइरसले भन्दा एडिनो भाइरसको संक्रमणले ज्वरो बढी आउने हुन्छ । ज्वरो आएको, रुवाखोकी लाग्यो, आँखा अलि–अल्लि पाकेमा सर्पोटिक उपचार मात्रै गरिन्छ । यस्ता समस्या देखिएको अवस्थामा बालबालिकालाई बढी ख्याल राख्नुपर्छ । ज्वरो कम गराउन सामान्य सिटामोल खुवाउने, पोसिलो खानेकुरा खुवाउने, आराम गराएर राख्ने, झोलिलो कुरा बढि खुवाउने गर्नुपर्छ । तर दुई हप्तामा ठिक हुन्छ भनेर बालबालिकामा जटिलता देखियो भने घरमै राख्नहुँदैन । जस्तो कि, ज्वरो १०२÷१०३ डिग्रीसम्म आएको एकहप्तासम्म पनि ठिक नभएको अवस्थामा, ज्वरो सँगसँगै बालबालिका आलस्य भएमा, वान्ता पटक–पटक गरेमा, श्वासप्रश्वास छिट्टो–छिट्टो फेरेमा, कोखा हानेको अवस्थामा तुरुन्तै अस्पताल लैजानुपर्छ ।
यो भाइरसबाट बच्न आवश्यकता नभई भीडभाड भएको ठाउँमा जान हुँदैन । रुघाखोकी, ज्वरो, आँखा पाक्ने यस्ता लक्षण भएका बालबालिकालाई पर राख्ने गर्नुपर्छ । त्यसैगरी, साबुनपानीले बारम्बार हात धुने, व्यक्तिगत सरसफाई र खानपानमा ध्यान दिने गर्नु राम्रो हुन्छ ।