पाँचखाल, सम्भावना प्रशस्तै भए पनि सही नेतृत्वको अभावका काभ्रेको पाँचखाल नगरपालिकामा आर्थिक उन्नति स्थानीयबासीको सपनाजस्तै बनिसकेको छ । अघिल्लो चुनावमा पाँचखालालाई अमेरिकी मोडलमा विकास गर्ने भाषण सुनेर मख्ख परेका पाँचखालबासी अहिले निराश बनिसकेका छन् । तर, पाँचखालमा दीर्घकालिन आर्थिक विकासको जग बसाउने संकल्पसहित नयाँ नेतृत्वका लागि युवा नेता कञ्चन अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।

‘जनताले नयाँ नेतृत्व र नयाँ योजना खोजेका छन’, नेकपा एमालेबाट पाँचखाल नगरपालिकाको उम्मेदवार बनेका अधिकारी भन्छन्, ‘जनताको अपेक्षा पुरा गर्नेगरी आर्थिक विकासको खाका नेकपा एमालेले कोरिसकेको छ ।’ पाँचखाल नगरपालिकाको नारा छ ः कृषि शहर, पाँचखाल नगर । तर नाराअनुसार अहिलेसम्म काम हुन सकेको छैन । किसानले नगरपालिकाबाट कृषि क्षेत्रमा केही प्राप्त गर्नै नसकेको अवस्थामा एमाले पाँचखालले आर्थिक विकासको पहिलो शर्त नै बनाएको छ ः “कृषि भूमिमा पानी, सिंचाईमा लगानी” । पाँचखाल नगरपालिका कृषिबाटै समृद्ध बन्न सक्छ, तर त्यसका लागि सिञ्चाई मुख्य समस्याको रुपमा रहेको छ । सिञ्चाईको समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्न साविकका सतह सिंचाईका कुलाहरुलाई मर्मत संभार गरिने छ । सतह सिंचाई नपुगेका कृषियोग्य भूमिमा लिफ्टिङ, डिपबोरिङ, डिपट्युवेल तथा इनार, आकासेपानी संकलन, प्लाटिक पोखरी, थोपा सिंचाई जस्ता बैकल्पिक सिंचाइका उपायहरु द्वारा सिंचाईको प्रबन्ध गरिने एमालेको प्रतिवद्धता छ । यस्तै तरकारी र तरकारीको बिउ ढुवानीका लागि अनुदान दिने, बाँझो जमिनमा खेतीका लागि प्रोत्साहन गर्ने लगायतका योजना पनि अघि सारिएको छ ।
नेकपा एमालेले पाँचखाल नगरपालिकामा विजयी भएपछि सहकारी क्षेत्रको प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास लगायतका योजनाबाट नगरमा आर्थिक विकास गर्ने प्रतिवद्धता एमालेले गरेको छ । आफूहरु असम्भव नारा र योजना लिएर नआएको बताउँदै नगर प्रमुख पदका उम्मेदवार अधिकारीले, गर्न सकिने र पाँचखालबासीले विकासको अनुभूति गर्ने गरी योजना तयार पारिएको जानकारी दिए । –नव क्षितिज साप्ताहिकबाट