बनेपा, पनौती नगरपालिकामा आजदेखि १२ वर्षे हरिसिद्धि जात्रा सुरु हुदैँछ । ऐतिहासिक हरिसिद्धि जात्राको तयारी सकिएको जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताएका छन । आज चैत २८ गतेदेखि २०७९ वैशाख १ गतेसम्म जात्रा सञ्चालन हुने छ ।
हरिसिद्धि जात्राको अवसरमा पनौती नगरपालिकाले नगर क्षेत्रमा चैत्र २९ गते भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आर्थिक अभावका कारण ६० वर्षपछि २०६६मा भएको जात्रा यस पटक देखि चन्दा उठाएर नियमित सञ्चालन गर्न लागिएको हरसिद्धि जात्रा मूल समारोह समितिका संयोजक सुरेश सैंजुले जानकारी दिए ।
जात्रा ललितपुरबाट आउने देवगण सहितको टोलीले २८ गते सांस्कृतिक नगर परिक्रमा, २९ र ३० गते लगातार १६ घण्टा नाच र ३० गते बिदाइ गरिने छ । जात्रामा १९ जना देवगण र १० जना च्याभूले व्यवस्थापक गरी २९ जना पुजारीबाट नाचलगायतका मन्दिरको कार्य गरिन्छ । अष्टमातृकाको नाच, विक्रमादित्यसँग सम्बन्धित दृश्य, विभिन्न देवदेवी, ऋषि तथा रामायणको आंशिक कथावस्तुहरु नाचमा प्रदर्शन गरिन्छ । सचितिर्थ मानिने पनौतीलाई धार्मिक गन्तव्य मानेर हरेक वर्ष नवदुर्गा जात्रा, साँखु र माधवनारायणका वत्रालुहरु पनौती आउने गरेका छन् ।
हरसिद्धी नाच जात्राको समयमा त्रिशाक्ति हरसिद्धीको पनौतीमा बास रहुन्जेल अन्य कुनै बाजा बजाउन नहुने पूजाको समयमा कुखुराको मासु, अण्डा र लसुनसमेत निषेध गरिएको जात्रा ब्यवस्थापन समितिले जनाएको छ ।
विसं २०६६ देखि जनसहभागिताबाट रकम सङ्कलन गरी भव्यरूपमा जात्रा सञ्चालन गरिँदै आएको छ । विसं २०६६ मा जात्रा आयोजना गर्न ५ लाख खर्च भएको थियो । यसपटक १६ लाख खर्च हुने अनुमान गरिएको छ । जसका लागि पनौती नगरपालिकाले १५ लाख सहयोग गरेको छ । जात्रा वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात सम्पन्न हुने छ । –नव क्षितिज साप्ताहिकबाट