पनौती, पनौतीमा प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने बिशेष मेला सुरु भएको छ । पनौती नगरपालिका वडा नम्बर ७ स्थित त्रिवेणीघाटमा लाग्ने मेलामा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लाग्न थालेको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढी रहेको र जिल्लामा समेत संक्रमित संख्या बढीरहेका कारण जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भिडभाड नगर्न निर्देशन दिएको थियो । स्थानीय प्रशासनले २५ जना भन्दा भेला नहुन निर्देशन दिएको छ । प्रशासन र पनौती नगरपालिकाले मेलामा स्वास्थ्य मापदण्डको पालना गर्न भने पनि मेलामा उक्त निर्देशनलाई पालना गरिएको छैन ।
नगरपालिकाले मकर स्थानको लागि लीलावती र पुण्यमाता खोलामा स्नान गर्न मिल्ने बनाएको छ । एकै पटक धेरै जना हुँदा स्नान गर्न सहज होस् भनी खोलाभित्र बाँस राखिएका छन् । त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टि रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथ डाँडास्थित् गोरखनाथलाई चढाउँदा पुन्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । माघ महिनाभर हर्षोल्लासका साथ मनाइने सो मेला कोरोनाभाइरसको कारण मारमा परेको छ ।
नेपालको एक मात्र स्थान उत्तर प्रयागका रूपमा चिनिने पनौतीमा लाग्ने मकर मेलाको धार्मिक विशेषताका कारण देश तथा विदेशबाट समेत भक्तजनहरू मेला भर्न आउने गरेका थिए ।

सत्ययुगमा देवराज इन्द्रले ऋषि गौतमकी पत्नी अहिल्यासँग छल गरेर अनुचित यौनसम्वन्ध कायम गरेपछि गौतम ऋषिको श्रापबाट मुक्त हुन पनौतीमा आएर तपस्या गरेका थिए । उनी पापबाट मुक्त भएका थिए भन्ने आख्यान छ । त्यही किंवदन्तीका आधारमा पनौतीमा हरेक १२ वर्षमा एक महिना मेला लाग्दै आएको छ ।

त्रिवेणी धाममा आई स्नान गर्दा आफूले जीवनमा गरेका हरेक पापबाट मुक्त भइन्छ भन्ने विश्वास जनमानसमा रहेको पाईन्छ । प्राचीन समयमा इन्द्र, महादेव, विष्णु, अहिल्या, शची, पार्वती, गोरखनाथ, पाण्डव आदी देवीदेवता र महापुरुषहरू पनौतीलाई तपोभुमि मानेर पनौतीमा आउने गरेको पाईन्छ ।
तत्कालिन राजा प्रताप मल्लले वि सं.१७२७ मा रानीपोखरी बनाईसकेपछि विभिन्न तिर्थस्थलको जल राख्ने क्रममा पनौती स्थित त्रिवेणीघाटको जल पनि राखिएको शिलालेखमा उल्लेख गरिएको इतिहास विद्ले जनाएका छन । तीन नदिको संगमस्थल त्रिवेणी घाटमा पुण्यमाता र रोशी खोला बाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ ।
भारतको प्रयागमा गंगा र यमुना नदिको संगममा गुप्त रुपले सरस्वती मिसन नदि बहेझै पनौती स्थित रोशीलाई रुद्रावती नदि, पुण्यमाता नदिलाई लीलावती र गुप्तरुपले बगेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दुध बग्ने नदीलाई पद्यमावती मानिने गरेको जानकारहरु बताउछन । –नव क्षितिज साप्ताहिकबाट