कमेडी च्याम्पियन बने ताप्लेजुङका भरतमणि


 

कमेडी च्याम्पियन सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २ को उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए । उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियनमा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।

विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्