अब आफ्नै भवनमा नमोबुद्ध ११ को वडा कार्यालय नगरप्रमुख तिमल्सिनाद्वारा उद्घाटन



कुरुगाउँ (नमोबुद्ध)–चार बर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध नगरपालिका ११ को वडा कार्यालय सोमबारदेखि आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ ।
वडा कार्यालय भवनको आज सोमबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेसँगै अव सेवाग्राहीले सहजरुपमा सेवा प्राप्त गर्ने भएका छन् । वडा कार्यालय भवनसँगै कुरुगाउ आधारभुत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । यससँगै वडाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप ससहजता आउने भएको छ । नगर प्रमुख तिमल्सिनाले वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवनको एकसाथ उद्घाटन गरेका थिए ।
२०७४ सालको स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएपछि निर्माण भएर उद्घाटन भएको वडा नं. ११ को वडा कार्यालय पहिलो हो । वडा कार्यालय ५५ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो भने ३३ लाख १० हजार रुपैयाँ तथा १५ प्रतिशत जनसहभागितासहित स्थानीय उपभोक्तामार्फत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।
नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं. ११ सहित वडा नं. ३ र ६ को  वडा कार्यालय निर्माणको काम सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा वडा नं. २, ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक बर्षमा वडा नं. १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवनको पूर्णरुपमा निर्माणको कामसमेत सकिसकेको छ ।
वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले एकतावद्धरुपमा नगरको विकासमा लागिपरेको बताए । सबै वडामा प्रशासकिन भवन तथा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको, मुख्य सडकहरु स्तरोन्नति तथा कालोपत्रे गर्ने काम भएको तथा सबै वडाको केन्द्रसम्म पुग्ने सडकसमेत निर्माण भएको तिमल्सिनाले बताए । नगरको ऐतिहासिक दाप्चा क्षेत्रको पुननिर्माणको काम अघि बढाउन लागिएको जानकारी दिँदै तिमल्सिनाले वडा नं. ११ मा सडक, खानेपानी आदिको व्यवस्थापनमा विशेष जोड दिइएको बताए । नगरमा कृषि औद्योगिकीकरणमा पनि विशेष जोड दिइएको र सोहीअनुसारका नीति तथा कार्यक्रम तय गरेर कार्यान्वयनमा लगिएको उनले बताए । वडा नं. ११ मै धुलिखेल अस्पतालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र निर्माणका लागि कार्यसमेत सुरु गर्न लागिएको उनले बताए ।
कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरमा भौतिक संरचनाको विकास तीब्ररुपमा भएको बताउँदै यसको सही सदुपयोग गर्न सबै पक्षलाई आग्रह गरिन् । उनले सडक निर्माणसमेत नगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको र सोहीअनुसार नगरका सबै वडामा मुख्य तथा सहायक सडक निर्माणको काम भइरहेको तामाङले जानकारी दिइन् । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरबासीले सहजरुपमा सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले वडा भवन निर्माण, वडा कार्यालयका साथै मोबाइल एप्लिकेसनमार्फत राजस्व भुक्तानीको व्यवस्थापन गरिएको बताए । गाउँगाउँमा सिंहदरबारको नारालाई सार्थक बनाउनकै लागि सबै वडामा कार्यालय भवन निर्माणलाई विशेष जोड दिइएको र यसले वडाबासीलाई सेवा प्रवाहमा थप प्रभावकारिता आउने उनले बताए ।
यसैगरी वडा नं. १ का अध्यक्ष कृष्णवहादुर तामाङले दाप्चासडकदेखि वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गरिने बताए । वडाबासीको साथ र सहयोगकै कारण वडा कार्यालय तथा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको बताउँदै उनले स्थानीय तहबाट जनताले प्राप्त गर्ने सेवा सुविधालाई सहज र सुलभ तरिकाबाट प्रदान गर्न थप मद्दत पुग्ने बताए ।
नगरपालिकाका अन्य वडाका अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष कर्म ग्याल्बो लामा, वडा सदस्य भवमान तामाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमकै अवसरमा वडा कार्यालयको दलित आयआर्जन कार्यक्रमअन्तर्गत वडामा रहेका १३ वटै दलित परिवारलाई आयमुलक कार्यका लागि ड्रिल मेसिन, वेल्डिङ मेसिन र कटिङ मेसिन वितरण गरिएको थियो । यस्तै चार बर्षसम्म वडा कार्यालय र स्वास्थ्य केन्द्र सञ्चालनका लागि घर उपलव्ध गराउने घरधनीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रम वडा सचिव शंकर भट्टराईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्