
काभ्रेको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका ११ वटै वडाका किसानलाई मौरीसहितको घार वितरवण गरेको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरलाई मौरीपालनमा अब्बल नगर तथा किसानलाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत् ५६ वटा मौरीसहितको घार वितरण गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मौरीसहितको घार चालु आर्थिक बर्षको कार्यक्रमबाट वितरण गरिएको हो । किसानलाई मौरीपालन सम्वन्धी तालिमसहित घार वितरण गरिएको हो । उत्पादित महको बजारीकरणको व्यवस्था नगरपालिकाले नै गर्ने बताईएको छ ।
यसअघि नगरपालिकाले विभिन्न वडाका कृषकलाई लागि ८० प्रतिशत अनुदानमा १ सय ५५ वडा पाडी वितरण गरिसकेको छ । चालु आर्थिक वर्षभित्र नै बाख्रा वितरण गरिने गरी तयारी गरिरहेको नगरपालिकाले जनाएको छ । यस्तै ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर) र ५० प्रतिशत अनुदानमा मिनिटिलर, इलेक्ट्रिक पम्प, फलफूलको बिरुवा वितरण गर्ने तयारी गरिएको छ ।








