भक्तपुर/मदरल्याण्ड स्कूल भक्तपुरले महानगरीय प्रहरीवृत्तलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बढ्दो कोभिड १९ को दोस्रो भेरियण्ट संक्रमणको जोखिममा अग्रपंक्तीमा रहेर काम गरिरहेका प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुर, भक्तपुरमा अवस्थित मदरल्याण्ड स्कूलले महामारीको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको हो । विद्यालयले कोभिड–१९ को जोखिममा पनि अहोरात्र आफ्नो जिम्मेबारीमा खटिदै आएको वृत्तका प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सोमबार विद्यालयका प्रिन्सीपल संजय खड्काले महानगरीय प्रहरी वृत्त भक्तपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । महामारीको विषम परिस्थितिमा आम नागरिकको स्वास्थ्य र सुरक्षामा अहोरात्र खटिने प्रहरीलाई सहयोग गर्नु हामी सबैको कर्तव्य भएकोले विद्यालयबाट सकेको स्वास्थ्य सहयोग गरेको विद्यालयका प्रिन्सीपल संजय खड्काले बताए । विद्यालयले विषम परिस्थितिमा अग्रपंक्तिमा खटिने प्रहरीलाई स्वास्थ्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको खड्का बताउँछन् ।
विद्यालयले वृत्तलार्ई हस्तान्तरण गरेको सामग्रीमा ह्याण्ड स्यानिटाइजर ६ जार (३० लिटर), मास्क २ हजार ५ सय थान, पन्जा १ हजार थान, फेस शिल्ड २ सय ५० थान रहेको छ । सामाजिक क्षेत्रमा समेत सक्रिय भक्तपुरका विद्यालय मदरल्याण्डले कोभिड १९ को जोखिममा आफ्नो ज्यानको परवाह नगरी अहोरात्र आम नागरिकको जन स्वास्थ्य एवम् सुरक्षाको लागि खटिएका प्रहरी तथा कर्मचारीको उच्च मुल्यांकन गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको विद्यालयले जनाएको छ । प्रिन्सीपल खड्काले विद्यालयले यस अघि पनि सामाजिक कार्यमा हातेमालो गर्दै आएकोले यो विषम परिस्थितिमा प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
महानगरी प्रहरी वृत्त भक्तपुरका कार्यालय प्रमुख राजेश थापाले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा विद्यालयको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।








