काभ्रेः ‘निषधाज्ञा तथा सिल’का कारण समस्यामा परेका ज्यालादारी र श्रमिक तथा मजदुरलाई राहतस्वरूप खाद्यसामग्री वितरण गरेका छन् । युवा समाजसेवी विकास योञ्जनले ‘कोही रोगलेभन्दा भोक मर्नु नपरोस्’ भन्ने उद्देश्यका साथ व्यक्तिगत रुपमा महाभारत गाउँपालिका स्थायी घर भइ जिल्लाको बनेपा, पनौती, धुलिखेल लगायतका क्षेत्रमा ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका उनीहरुलाई प्रति व्यक्ति तथा परिवारलाई एक बोरा चामल, एक किलो दाल, एक लिटर तेल, एक किलो मस्याउरा लगायतका खाद्यसामग्री वितरण गरिएका हुन् ।
युवा सामाजसेवी योञ्जनले दुई पटक गरेर हालसम्म ५० जनाभन्दा बढीलाई खाद्य सामग्री वितरण गरिएको जानकारी दिए । लकडाउन अवधिभर काम गर्न नसक्ने परिवारलाई र आम्दानीको अन्य स्रोत नभएकालाई राहत वितरण गरिने उनको भनाइ छ । ‘विशेषगरी काम गरिखाने र दैनिक मजदुरी गरेर खाने श्रमिक तथा मजदुर पहिलो प्राथमिकतामा रहेका छन्,’ उनले भने, ‘ अहिले छुटकाहरुलाई केही दिनभित्र तेस्रो पटकमा वितरण गर्ने बेला समेट्ने गरी विवरण संकलन गर्दैछु ।’
त्यस्तै उनले बन्दको कारण बाहिर निस्किन र बनेपाबाट टाढा रहेका मजदुरको लागि कोठा–कोठा पुगेर खाद्यसामग्री वितरण गरिएको बताए । ‘कसैलाई जिम्मा लगाएर पठाउँदा सम्बन्धित व्यक्तिले नपाउने आशंका बढी हुने भएकोले आफैँ पुगेर दिने गरेको छु,’ उनले भने । युवा समाजसेवी योञ्जनले जिल्ला प्रशासनले निषेधाज्ञा र नगरपालिकाले सिल गरेपछि खाद्यान्न समस्या हुन थालेको गुनासोहरु आएपछि आफुले व्यक्तिगत रुपमा खाद्यसामग्री वितरण गरेको बताए । ‘लकडाउन अझै लम्बिँदै गएमा राहत वितरण कार्यलाई निरन्तर राख्दै जानेछु,’ उनले भने, ‘लकडाउनको स्थिति हेरौँ कस्तो हुन्छ । यदि अवस्था नाजुक बन्दै गयो भने अझै बाड्छौँ । लकडाउन अवधिभर बाड्छौँ ।’
वडा–वडामा खाद्यसामग्री, घरमा बस्नेको भाडा नलिने
आफ्नो व्यक्ति रुपमा खाद्यसामग्री बाँड्दै आएका युवा विकास योञ्जनले महाभारत गाउँपालिकाका प्रत्येक वडामा पुगेर ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गर्ने बताएका छन् ।
लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् उद्देश्यले वडाहरुमा पुगेर खाद्यसामग्री वितरण गर्न लागेको जानकारी दिए । यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका युवा समाजसेवी योञ्जनले पछिल्लो समय राहत तथा खाद्यसामग्री वितरणको कामलाई तीव्र बनाएका हुन् । त्यस्तै, युवा समाजसेवी विकास योञ्जनले बनेपास्थित घरमा बस्नेको एक महिनाको भाडा आफुले नलिने बताएका छन् । उनको घरमा रहेको दश वटा कोठामा भाडामा बस्नेहरु छन् ।








