योगेश काजी, सारिका घिमिरे र देवेन्द्र बब्लुको स्वर रहेको गीत ‘त्यो पर्दैन…’ सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्द, योगेशकै सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
वाइटिएच स्टुडियोको यूट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियो वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले तयार पार्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ बोलेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म ‘भाइरल’ नै बन्यो । अहिले पनि ‘त्यो पर्दैन’ सामाजिक सञ्जालमा प्रयोग भइरहेको छ । यही परिप्रेक्ष्यमा गीतका लोकराज अधिकारीले ‘त्यो पर्दैन’ लाई सापटी लिएर ‘त्यो पर्दैन’ गीत तयार पार्नुभएको हो ।
नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोता/दर्शकको मन जित्न सफल हुनुभएको छ भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता/दर्शकको रोजाइमा रहेका छन् । यो जोडिका गीत ‘हेल्लो’, ऐसेलुको पात’ जस्ता गीत करोड क्लवमा रहेका छन् भने ‘घिन्ताङ घिन्ताङ मादलु…’ जस्ता धेरै गीत एकदमै लोकप्रिय रहेका छन् ।








