धुलिखेल, कलाकारहरुलाई एकजुट बनाउँदै हिँडिरहेको राष्ट्रिय संगीतकर्मी संघ शाखा बिस्तारमा खटेर लागेको छ ।
सोही क्रममा राष्ट्रिय संगीतकर्मी संघ काभ्रे शाखाले पालिकाहरु बिस्तार गर्ने क्रममा धुलिखेल नगरपालिका र बनेपा नगरपालिका बिस्तार गरेको छ । संघले नगरभित्रका विविध विधामा कलाकारितामा सक्रिय कलाकारहरुलाई समेटेर काभ्रे जिल्लाका दुई नगर गठन गरेको हो ।
राष्ट्रिय संगितकर्मी संघ काभ्रे जिल्ला शाखा अन्तर्गत धुलिखेल र बनेपा नगर समिति गठन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश संयोजक दिपक रिमालले सबै किसिमका कलाकाहरु अट्ने यो संस्था राष्ट्रिय संगितकर्मी संघ एउटा सुन्दर फूल भएको बताए । रिमालले संस्थालाई अघि बढाउन हामी सबै कलाकार एकजुट बन्नुपर्ने र एकजुट भएपछि हाम्रो अधिकार, हक प्राप्त गर्न कठिनाइ नहुने धारणा राखे ।
यस्तै बाग्मति प्रदेश उपाध्यक्ष सावित्री राना मगरले हामी कलाक्षेत्रको उत्थान र कलाकारहरुको हक हितका लागि संस्थामा आबद्ध रहेको बताए । यस्तै प्रदेश महासचिव मान बहादुर तामाङले विधी, निती नियम अनुसार संस्थामा लागिपर्नुपर्ने बताउँदै संस्थामा आवद्ध हुँदा कलाकारहरुको समस्याहरुको समाधान निकाल्न सहज हुने धारणा राखे । लामाले संघका सदस्यहरुका लागि रु १० लाखको निःशुल्क विमाको समेत व्यवस्था गरेकोले संस्थामा आवद्ध हुन र पुराना, नयाँ सबै कलाकारलाई संस्थाको सदस्यता लिन आग्रह गरे ।
यस्तै संघका रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङले जब सम्म हामी कलाकार एकजुट हुँदैनौं हामीले आफ्नो हक अधिकारको लडाइं लड्न कठिन हुने बताए । चलचित्रका नायक समेत रहेका तामाङले अब राष्ट्रिय संगितकर्मी संघले कलाकारहरुको समस्याहरुलाई सम्बोधन गर्ने धारणा राखे । यसैगरी राष्ट्रिय संगितकर्मी संघ काभ्रे जिल्ला अध्यक्ष अमरकृष्ण चन्दले सबै कलाकारलाई समेट्न सोचले संस्थामा आवद्ध हुन चाहने सबै कलाकारहरुलाई आग्रह गरे । चन्दले कलाकारितामा समेत विकृति रहेको बताउँदै कलाकारहरुलाई ती विकृति विरुद्ध सचेत हुनुपर्ने बताए ।
जिल्ला अध्यक्ष चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा वाग्मति प्रदेश महिला उपाध्यक्ष मिस्रा काफ्ले, सचिव रबिन्द्र रिमाल, संघका रसुवा जिल्ला प्रबक्ता श्याम माया गुरुङ, ल्हज्युम ग्यल्मु घले, कालीदेवि मिडियाको प्रोपाइटर तथा नायक, निर्देशक बिनायक तामाङ, इम्यानुअल बोर्डिङ स्कुल धुलिखेलका प्रिन्सिपल उदय भुषण जंगम, नृत्य निर्देशक संघ काभ्रेका सहसचिव रबिन्सन श्रेष्ठ, गायक एबं संगितकार सुरेन्द्र श्रेष्ठ, दुर्गा घिमिरे लगायत जिल्ला कार्य समिति पदाधिकारी तथा जिल्लाका कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमबाट धुलिखेल नगर समितिमा अध्यक्ष मुकेश शाहको अध्यक्षतामा र बनेपा नगर समितिमा रोहित दंगालको अध्यक्षतामा सर्वसम्मत समिति गठन भएको छ । चाँडै नै जिल्लाका अरु पालिकामा पनि समिति विस्तार गरिने जिल्ला अध्यक्ष चन्दले जानकारी दिएका छन् । जिल्ला सदस्य पुजन धितालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सह सचिव अनिसा तामाङले दिएका थिए ।







