बेथानचोक/पूर्वीय मान्यता अनुसार जन्म तिथिमा अष्ट चिरञ्जिवीको पूजा आजा गरि जन्म दिन मनाइन्छ । पछिल्लो समयमा केक काटेर बत्ती निभाएर मनाइने जन्मदिनलाई बेथानचोक गाउँपालिका वडा नं. ३ की कक्षा १० मा पढ्ने एक छात्राले आफ्नै विद्यालयमा अध्ययनरत साथीहरुको पढाइमा सहयोग पुग्ने उद्देश्यसाथ जन्मदिन मनाएकी छन् ।
पार्वती माध्यमिक विद्यालय बेथानचोक २ मा अध्ययनरत छात्रा दिपिका तिमल्सिनाले आफ्नो जन्मदिन विद्यालयमै मनाउने र विद्यालयका भाइ बहिनीहरुलाई सहयोग गर्ने बताए पछि विद्यालयमा उनले कार्यक्रम नै आयोजना गरेर मनाएकी थिइन । उनको जन्म दिन मनाउन उनका पिता मोहनकृष्ण तिमल्सिना तथा माता रञ्जना तिमल्सिनाले आवश्यक खर्च जुटाइदिएका थिए ।
कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, पार्वती मा.विका वि.व्य.स. अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष भगवान घिमिरे, विद्यालयका पूर्व वि.व्य.स. अध्यक्ष बलराम अधिकारी, पूर्व वि. व्य.स. सदस्य गोविन्द प्रसाद अधिकारी, विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा, पार्वती बहुमखी क्याम्पसका क्याम्पस प्रमुख प्रताप कार्की लगायत विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिपिकाले बाल विकास केन्द्र देखि कक्षा १० सम्म पढ्ने ६ सय विद्यार्थीहरुका लागि कापी, डडपेन, सिसाकलम तथा शिक्षकका लागि दैनिक पाठयोजना निर्माणका लागि भन्दै डायरी तथा कलम वितरण गरेकी थिइन् ।
यो सबै छोरीको इच्छा अनुसार नै गरेको हो । साना भाईबहिनीहरुको पढाइमा सहयोग पुगोस भन्ने उसको चाहना अनुसार करिब ७० हजार बराबरको स्टेशनरी सामग्री खरिद गरिदिएको उनका बाबु मोहनकृष्ण तिमल्सिनाले बताए । उनी अरुको पढाइमा पनि सहयोग गर्न पाउँदा खुशी हुने गर्छिन । हरेक जन्म दिन उनको यसै गरी मानाउने चाहना छ । त्यस अनुसार नै हामीले यो कार्यक्रम आयोजना गरेको उनकी आमा रञ्जनाले बताइन् ।
विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मा छात्रा दिपिकाको प्रशंसा गर्दै भन्छन ः मेहनती र लगनशिल छात्रा दिपिकाको यो कार्य सह्रानीय छ । सानै उमेरमा समाजसेवाको भावना भएकी उनलाई अरुका लागि पनि आर्दश छात्राको रुपमा लिनुपर्छ । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक दामोदर सुवेदीले गरेका थिए ।
यो दिपिकाको १५ औ जन्म वर्ष हो । यस अघि पनि उनले सोही विद्यालयमा पढने विद्यार्थीहरुका लागि स्टेसनरी वितरण गरेकी थिइन् ।







