हेमबहादुर मल्ल सम्मान, २०७५ बाट वरिष्ठ छाति रोग विशेषज्ञ डा. गौरी शंकर लाल दास सम्मानित हुनुभएको छ । नेपाल जन-प्रशासन संघले हरेक वर्ष प्रदान गर्ने सो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहमा प्रदान गर्नुभयो । सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको तथा सामाजिक सेवामा समर्पित रही अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीहरूको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै बरिष्ठ डा. दासलाई प्रदान गरिएको हो ।

पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले हेम बहादुर मल्ल सम्मान पाउने डा. दास १६ औँ व्यक्ति भएको जानकारी दिनुभयो । समाराहोमा डा. दासले सम्मानका लागि आभार प्रकट गर्नुभएको थियो ।

राष्ट्रपति भवनको कार्यक्रमपछि याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष बास्कोटाले डा. दासलाई संघको लोगो प्रदान गर्दै सम्मान प्रकट गर्नुभएको थियो । समारोहमा प्राध्यापक यशोधा काफ्ले, प्रा. चूडाराज उप्रेती र माधव पौडेलले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।