बनेपा, काभ्रेको भुम्लु गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ

गाउँपालिकाको आईतबार बसेको बैठकलेले तामाङ समुदायको साँस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७ लाङ म्हे सोनाम ल्होछारको अवसरमा माघ २९, ३० र फाल्गुण १ गते दिने निणर्य गरेको हो ।

गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेकाले तामाङहरुको मुख्य चाड सोनाम ल्होछार रहेको बताउँदै ३ दिन सार्वजनिक विदा दिएको बताउनुभयो ।

सोनाम ल्होछारको प्रवद्र्धन र विकास गर्नु सरकारको दायित्व भएकाले ल्होछारमा ३ दिन विदा दिएको बताउँदै अध्यक्ष कुँवरले सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको बताउनुभयो । “सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उहाँले भन्नुभयो ।

नेपाल तामाङ घेदुङ भुम्लुको अध्यक्ष क्रान्ति लामा, सचिव कृष्ण तामाङले सोनाम ल्होसारका अवसरमा ३ दिन सार्वजनिक विदा दिएकोमा भुम्लु गाउँपालिका अध्यक्ष गुमान ध्वज कुवरलाई सबै भुम्लु तामाङ समुदायको तर्फबाट खुशी व्यक्त गर्दै विशेष धन्यवाद ज्ञापन गरेको छ ।

ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । तामाङहरुलाई प्रकृतिप्रेमी समूदायका रुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् ।

ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् ।

तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।