काभ्रे (पार्थली) – जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ४, स्थित श्री सवस्वती माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य सानुबाबु खत्रीको सभापतित्व तथा बेथानचोक गाउँपालिका वडा नम्बर ४ का वडाअधक्ष्य लाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक शिव शाहले अतिथिहरुलाई स्वागत गरेको थिए । उक्त कार्यक्रमको अवसरमा यस विद्यालयका पूर्व शिक्षक ठुलोबाबु तिमल्सिना र भक्ती तिमल्सिना अक्षय कोषबाट ५ जनालाई प्रत्येक बर्ष छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बेथानचोक गाउँपालिका वडा नम्बर ४ का वडाअधक्ष्य लाल बहादुर श्रेष्ठले सामुदायिक विद्यालय भएर पनि यस विद्यालयले संस्थागत विद्यालयसँग प्रतिष्पर्धा गर्दैे विगत लामो समयदेखि नै शैक्षिक उपलब्धिमा फड्को मार्दै आएको बताए ।

उनले विद्यालयलाई समुदायको पूर्ण सहयोग रहेको अभिभावक, शिक्षक, कर्मचारी विद्यार्थी र सबै सरोकारवालाहरुको सामुहिक प्रयासबाट यस विद्यालयले आफूलाई नमुना विद्यालयको रुपमा अगाडि सार्न सक्ने विश्वास व्यक्त गरे । ‘अब हामी सबैको रोजाई सामुदायिक विद्यालय हुने गरी अगाडि बढ्न आ-आफ्ना घर छिमेकका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराउने अभियानमा लाग्नपर्छ ।’ श्रेष्ठले भने ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, पूर्व-विद्यार्थी मञ्चका पदाधिकारीहरु, पूर्व शिक्षकहरु, अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।