नमोबुद्ध  नगरपालिकाद्वारा आयोजित कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
तालिममा नमोबुद्ध नगरपालिकाका ३२ जना र रोशी गाउँपालिकाका ६ जना गरी ३८ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दैै नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जनप्रतिनिधिले तयार पारेका नीतिलाई कर्मचारीले कार्यान्वयन गर्ने भएकाले यस्ता तालिमले त्यसमा सहयोग पु¥याउने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालिमले अध्ययनको दायरा बढाउने बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न कर्मचारीहरुलाई आग्रह गर्दै आगामी दिनमा पनि क्षमता विकासका लागि यस्ता तालिम आयोजना गर्ने बताए । यस्तै वडा नं. ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्लेले तालिम लिएर सिकाईमा मात्रै सीमित नराखी त्यसलाई व्यवहारमा कार्यान्वयन गरेमात्रै प्रतिफल प्राप्त हुने बताए । समापन कार्यक्रममा तालिमका सहभागीहरुमध्ये बलराम पौडेल र रमा विश्वकर्माले तालिम प्रभावकारी बनेको र तालिमले आफूहरुको क्षमता विकासमा थप टेवा पुगेको बताए ।

सहभागीहरुलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिव नारायण अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बाबुराम ज्ञवाली, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा नमोबुद्ध नगरपालिकाका लेखा अधिकृत रिपुध्वज केसीले प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहमा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।