प्रकाश ओझाको स्वर रहेको गीत ‘भन्दे’ सार्वजनिक भएको छ । युट्युव च्यानल ओएसआर डिजिटल मार्फत बुधबार दिउँसो उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।

लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका ओझा यसै गीतमार्फत नेपाली गीत सङ्गीतको क्षेत्रमा पुनरागमन गर्दैछन् । ‘भत्काइ दिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ जस्ता चर्चित गीतका गायक ओझा कमेडी फ्लेभरको गायनमा चर्चित मानिन्छन् । उनि हाँस्य कलाकार पनि हुन् ।

सार्वजनिक गीत ‘भन्दे’ मा शब्द र सङ्गीत पनि ओझाको नै छ । भिडियोमा अभिनेता मुकुन भुसाल, रविन्द्र झासँगै अभिनेत्रीहरू पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् । बसन्त निरौलाले भिडियोलाई निर्देशन गरेका हुन् ।

छायाँकन सुदिप बरालले गरेको भिडियोमा सम्पादन सुप्रिम पराजुलीको छ । यो भिडियोमा जोडिएको निरौला नेतृत्वको टिमले ओएसआरसँगको सहकार्यमा विभिन्न चर्चित हाँस्य कलाकारहरुको साथमा एक वेभ सिरिजसमेत तयार गरिसकेको छ ।