पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।
यसैगरी आज थप १६७४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज काभ्रेमा २६ जना संक्रमित थपिएका छन ।