सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ ।
यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुनपर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्न गई सेवाग्राहीको समय र आर्थिक लागत बचत हुने बताए ।
गृह मन्त्रालयमा सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआबद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भलन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा शुरु गरेको उनले बताए ।
हालसम्म धेरै वटा सेवा ठाउँबाट केन्द्रिकृत सेवा प्रवाह शुरु भइसकेको जानकारी दिँदै विस्तारै देशैभरी विस्तार गरिने जानकारी पनि दिए । ‘राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता आवेदन फारम भरी जैविक विवरणसहित आवेदन गर्न राष्ट्रिय परिचयपत्र इकाई रहेका स्थानमा वायोमेट्रिक जाने गरेको अवस्थाले नागरिकले खर्च गर्नुपरेको समय र लागतलाई न्युनिकरण गर्ने मुल उद्देश्य रहेको छ ।








